काठमाडौं– आगामी भदौ २ देखि इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुद प्रतियोगितामा नेपालले २८ खेलमा भाग लिँदैछ।
एसियाली खेलका लागि नेपालले स्वदेश र विदेशमा तयारी गरिरहेको छ। नेपालले एसियाली खेलकुदमा आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, जुडो, कराँते, कबड्डी, लनटेनिस, सुटिङ, पौडी, तेक्वान्दो, टेबलटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, सेपाकटाक्रो, उसु, स्पोर्टस क्लाम्बिङ, प्याराग्लाइडिङ, कुरास, पेनकक सिटेल र स्केटबोर्डमा प्रतिस्पर्धा गर्दैछ।
प्रतियोगिता नजिकिँदै गर्दा नेपालले तयारी तिव्र गतिमा गरिरहेको छ। अघिल्ला २ एसियाली खेलकुदमा नेपालले १–१ कास्यमा मात्र चित्त बुझाएको थियो। यसपटक नेपालले पहिलाको भन्दा राम्रो नतिजा निकाल्ने लक्ष्य लिएको छ।
यसै सन्दर्भमा नेपाल लाइभका सीताराम कोइरालाले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टसँग कुराकानी गरेका छन्।
एसियाली खेलकुद नजिकिँदै छ, नेपालको तयारी कस्तो छ?
नेपालको तयारी सन्तोषजनक छ। खेलाडीलाई विगतभन्दा लामो समय बन्द प्रशिक्षणमा राखेका छौं। संघहरुको प्रस्तावअनुसार वैदेशिक प्रशिक्षण लागि पठाएका छौं। हामीले विदेशमा प्रशिक्षण गर्न चाहने सबै संघको प्रस्तावलाई स्विकार गर्दै पठाइरहेका छौं। त्यसमा पनि पदक प्राप्त गर्ने सम्भावना भएका खेललाई बढी प्राथमिकता दिएका छौं। सहुलिय वा सुविधामा जाने व्यवस्था मिलाएका छन् भने हामीले सहयोग गरेका छौं। पदकको सम्भावना भएको करातेले अहिले जापान जानका लागि प्रक्रिया अघि बढाइरहेको छ। देशमै प्रशिक्षण भइरहेको छ। विगतको भन्दा तयारी राम्रो भइरहेको छ।
हामीले प्रतिस्पर्धीको तयारी पनि हेर्नु हुन्छ। हामीले बजेट र सामर्थ्यले भएसम्म राम्रो गर्ने कोशिस गरिरहेका छौं।
संघको विवादले गर्दा तयारीमा असर गर्ने गरेको छ। अहिले करातेमा केहि समस्या देखिएको छ। खेलाडीको प्रदर्शनमा असर नगरोस् भन्नेमा परिषद कतिको चनाखो छ?
करातेबाहेक अन्य खेलमा समस्या छैन। करातेमाछनोटमा समस्या भएको होइन। प्रशिक्षणको विषयमा केहि असमझदारी भएको हो। यसले प्रशिक्षणमा असर गरेको छैन। हामीले समस्या हल गरिक्यौं।
खेलाडीलाई प्रशिक्षण गराउने जिम्मेवारी सम्बन्धित खेल संघको हो। खास गरी प्रशिक्षण, खेलको विकास, खेलाडीको खोजी, अन्तर्राष्ट्रिय सम्बन्ध राख्ने काम संघको हो। हामीले खेल संघको प्रस्तावअनुसार बजेटको सीमाभित्र रहेर सुविधा दिने हो। प्रशिक्षणका लागि प्रशिक्षक उपलब्ध गराइदिने हो। खेलाडीका लागि प्रशिक्षणको व्यवस्थापन गर्ने जिम्मेवारी संघ हो। हामीले निमयन गर्ने हो। हामीले त्यो गरिरहेका छौं।
संघहरुमा प्रशिक्षणको बेला देखिने यो पुरानो समस्या हो। अहिले मानिसहरुले अनुमान गरेभन्दा त विवाद छैन।
तयारीअनुसार एसियाली खेलकुदमा नेपालको प्रदर्शन कस्तो हुने अपेक्षा छ?
सुरुमा सबै संघले पदक ल्याउछु भनेर दाबी गर्छन्। यसो भनेर मैले शंका गर्न खोजेको होइन। तर पदक भन्ने कुरा हाम्रो तयारी वा संघको हातमा मात्र हुन्न। खेलाडीको प्रदर्शनमा भर पर्छ।
यसपटक म आसावादी छु। अघिल्ला एसियन गेम्स भन्दा यसपटक राम्रो नतिजा आउनेमा विश्वस्त छु।
उपलब्ध गराएको बजेटअनुसार संघहरुले गरेको तयारी प्रति कतिको सन्तुष्ट हुनुहुन्छ?
संघहरु पनि फरकफरक किसिमका छन्। केहि संघहरु जिम्मेवार छन्। खेलाडीको प्रदर्शनलाई लिएर चिन्तित छन्। श्रोत साधन जुटाएर, आफ्नो गोजीको लगाएर भएपनि खेलाडीलाई संरक्षण गर्ने गरिरहेका छन्। तर कुनै संघ यस्ता छन्, खाली औपचारिकताका लागि चलाइरहेका छन्। भित्र हृदयदेखि समर्पणको भावना नभएका संघ छन्। जतिबेला पनि हामीले झक्झकाउनु पर्न, गोठालो बसेको जस्तो बस्नु पर्ने खालका संघ छन्। यस्ता संघलाई हामी बिस्तारै अप्रेसन गर्दैछौं।
हामीले २५ संघलाई त खारेज नै गरिसक्यौं। अरु ८–१० वटा संघ पनि खारेज हुने अवस्थामा छन्। धेरै संघ पुनर्गठन हुने प्रक्रियामा छन्। काम नगर्ने संघहरु २–४ महिना भित्रमा रहँदैनन्। कतिपय हिजो जे पनि अहिले जुर्मुराएर उठेका छन्। कतिपय काम नगर्ने संघको नेतृत्व परिवर्तन गर्नु पर्ने अवस्था छ। पुरानै शैलीका, पुरानै ढर्काका छन्। खाली प्रतिष्ठाका लागि संघमा बस्ने पदाधिकारी पनि छन्। विदेश घुम्म पाइन्छ भनेर लोभमा बस्ने पदाधिकारी पनि छन्। खेलको बारेमा चिन्ता नहुने पदाधिकारी छन्। खेलको प्रगति हुन्छ कि हुदैन भनेर चिन्ता देखिदैन। खेल पुरानो छ, संघ पुरानो छ तर नेतृत्व समयअनुसार चलेको छैन। यस्तो नेतृत्वलाई पनि बिस्थापित गर्दैछौं।
एसियाली खेलकुदमा खेलाडीलेले केकस्ता सुविधा पाएका छन्?
बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई असारसम्म १४ सय रुपैयाँ दैनिक भत्ता प्रदान गरेका थियौं। साउनदेखि १५ सय हुँदैछ। यस्तै विदेशमा जानेलाई लाग्ने जति शुल्क दिएका छौं। खेल्नका लागि चाहिने सामग्री पनि दिइरहेका छौं र एसियन गेम्सका लागि पनि दिन्छौं।
हाम्रो देशको सन्दर्भअनुसार जति दिन सकिन्थ्यो त्यति दिएका छौं। अन्य देशको तुलना गर्दा केहि कमी हुन सक्ला। तर हामीले भ्याएसम्म गरेका छौं। अहिलेसम्म खेलाडीले चाहिने सामग्रीमा गुनासो सुन्न गर्न परेको छैन।
कुन ठाँउमा कस्तो प्रशिक्षण गर्ने जिम्मेवारी संघले हेर्ने हो। कुन देश कुन बेला जादा राम्रो हुन सक्छ भन्ने कुरा मिलाउने काम संघको हो। प्रशिक्षणका लागि संघले गरेको सबै प्रस्ताव हामीले पूरा गरेका छौं। यसमा खेलाडीको पनि क्रियाशिलता आवश्यक हुन्छ।
तर सरकारले भनेजति बजेट दिएको छैन। हामीले एसियन गेम्सको तयारी र सहभागिताका लागि ८ करोड मागेका थियौं। तर ५ करोड मात्र आएको छ। त्यो ५ करोड भित्र हामीले काम गर्नु पर्नेछ। हामीलाई अझै २ करोड समस्या छ। निर्णय गर्ने प्रक्रिया लामो हुँदा समस्या पर्ने गरेको छ। ओलम्पिक, साग गेम्स र सातौं राष्ट्रिय खेलकुद आयोजन गरियो। तर कहिले पनि समयमै बजेट निकासा भएन। यस्तो परिस्थितिमा काम गर्नु पर्दा सोचे जस्तो नहुदो रहेछ।
तर पनि हामीले खेलाडीले गुनासो गर्ने वातावरण बनाएका छैनौं।
विगतमा भन्दा लामो समय स्वदेश र विदेशमा प्रशिक्षण भएको हुँदा सबै सन्तुष्ट भएको पाएको छु।
नेपालले यसै वर्ष दक्षिण एसियाली खेलकुद पनि आयोजना गर्दैछ। एसियन खेलको सभागिताबाट सागमा फाइदा लिन सकिन्छ नी?
एसियन गेम्समा पदक ल्याउने त ल्याइहाले। पदक नल्याएपनि हामीले एक्पोजरको रुपमा लिनेछौं। हामी एसियन गेम्सबाट फर्के लगत्तै सागसम्म प्रशिक्षण निरन्तर गर्नेछौं। एसियन खेलमा सहभागी नभएका खेलाडीलाई प्रशिक्षण गराउने छौं। अब निरन्तर प्रशिक्षण हुनेछ। हाम्रो ध्यान साग गेम्समा बढीभन्दा बढी पदक ल्याउने हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।