काठमाडौं– सरकारले दक्ष युवा श्रम शक्ति उत्पादन गर्ने उद्देश्यले देशका तीन स्थानमा अन्तर्राष्ट्रिय स्तरको सीप विकास तथा प्राविधिक तालिम केन्द्र खोल्ने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हाल ललितपुरको भैंसेपाटी सीप विकास तथा प्राविधिक तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउँदै उपत्यकाबाहिर इटहरी र बुटवलमा पनि तालिम केन्द्र खोल्न गृहकार्य गरिरहेको जानकारी दिएको छ।
उक्त तालिम केन्द्रबाट वार्षिक १ लाख दक्ष जनशक्ति उत्पादन गरी आन्तरिक तथा बाह्य श्रम बजारमा आपूर्ति गर्ने योजना रहेको श्रम मन्त्रालयले जनाएको छ।
नेपालमा दक्ष श्रम शक्ति उत्पादन गर्ने तालिम केन्द्र अति आवश्यक देखिएकाले अन्तर्राष्ट्रिय स्तरको सीप विकास तथा प्राविधिक तालिम केन्द्र खोल्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मेहश दाहालले बताए।
‘नेपालमा अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र नहुदाँ हातमा सीप नभएका अदक्ष युवा वैदेशिक रोजगारीमा जान बाध्य छन्। जसका कारण उनीहरुले विदेशमा दुःख पाइरहेका छन्,’ दाहालले भने, ‘आन्तरिक श्रम बजारमा आवश्यक दक्ष श्रम शक्ति नहुदाँ सामान्य कामका लागि बाहिरका कामदारको भर गर्नुपर्ने अवस्था छ। दक्ष श्रम शक्ति उत्पादन गर्नका लागि पनि तालिम केन्द्र आवश्यक छ।’
सरकारले सञ्चालनमा ल्याउन लागेको तालिम केन्द्रबाट प्रविधिक सम्बन्धी तालिम, निर्माण क्षेत्र, टेलरिङ÷गार्मेन्ट, इलेक्ट्रिसियन, प्लम्बर, मेसन, स्टिल, फिक्चर, सटरिङ कार्पेन्टर, स्काफोल्डिङ, हाउस पेन्टिङ, कुक, वेटर, सिकर्मी, डकर्मी, हाउसकिपिङ र कफी मेकर लगायतका तालिम राख्ने मन्त्रालयले जानकारी दिएको छ।
हाल विदेशका रोजगारदाता कम्पनीले पनि यिनै शीर्षकका कामदारको माग गर्दै आएका छन्। इलेक्ट्रिसियन, प्लम्बर, मेसन, स्टिल, फिक्स्चर, सटरिङ कार्पेन्टर, स्काफोल्डिङ, हाउस पेन्टिङ, कुक, वेटर र सुरक्षा गार्डको बढी माग विदेशबाट आउने गरेको पाइन्छ।
नेपालभित्र सुरक्षा गार्ड, सिकर्मी, डकर्मी, कुक, वेटर र घरेलु महिला कामदारको माग बढी हुने गरेको श्रम मन्त्रालयको भनाइ छ। पछिल्लो समय उद्योग र कलकारखाना खोल्न क्रम बढ्दै गए पनि प्राविधिक क्षेत्रका कामदारको माग बढिरहेको मन्त्रालयले जनाएको छ।
तालिम केन्द्रबाट उत्पादन भएका र दक्ष कामदारलाई समेटर लेबर फोर्स गठन गरी कामदारको आपूर्ति गर्ने योजना रहेको मन्त्रालयले जानकारी दिएको छ। तालिम केन्द्र आगामी मंसिरसम्ममा सञ्चालनमा ल्याउनेगरी काम भइरहेको मन्त्रालयको भनाइ छ। तामिल केन्द्रका लागि आवश्यक बजेट र सहयोगका विषयमा गैरसरकारी संस्थासँग छलफल भइसकेको मन्त्रालयले जानकारी दिएको छ।
श्रम मन्त्रालयले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमार्फत सीपमूलक तालिम सञ्चालन गर्दै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।