नवलपरासी– तरुण दलका जिल्ला नेता पेस्तोल र खुँडासहित पक्राउ परेका छन्। गाडीमा पेस्तोल र खुँडा लिएर हिडेका तरुण दलका जिल्ला कमिटी सदस्य किशोर आचार्यलाई प्रहरीले चेकिङको क्रममा आइतबार साँझ बर्दघाटमा पक्राउ गरेको हो।
बा ९ च ९९६ नम्बरको गाडीमा सवार उनलाई राजमार्गमा पक्राउ गरिएको नवलपरासी(पश्चिम)का एसपी राजेन्द्र भट्टले बताए। उनी टोयटा पिकअप भ्यानमा थिए। गाडीको सिटको पकेटबाट मेड इन यूएसए लेखिएको पेस्तोल बरामद गरेको हो। पेस्तोलको म्यागजिन भने खाली थियो।
आचार्य जिल्लामा ठेक्कापट्टामा संलग्न व्यक्ति हुन्। उनीमाथि गुन्डागर्दी गरेको समेत आरोप लाग्ने गरेको छ।
पक्राउ परेपछि आचार्यले आफुले साथीको गाडी केही दिनलाई लिएको र हतियारबारे जानकारी नभएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।