काठमाडौं– डा गोविन्द केसीको अनसनका क्रममा जुम्लामा गत बिहीबार भएको झडप घटनाको थप अनुसन्धानका लागि डिआइजीको नेतृत्वमा छानबिन समिति बनेको छ। प्रहरी प्रधान कार्यालयले कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी सुरेशबिक्रम शाहको नेतृत्वमा समिति गठन गरेको हो।
डिआईजी शाह नेतृत्वको टोली आइतबार नै जुम्ला पुगेर स्थलगत रुपमा छानबिन अघि बढाएको छ। अस्पतालभित्र भएको बल प्रयोगदेखि जुम्लाका प्रहरी प्रमुख डिएसपी तपन दाहालले घाइते जवानलाई मृत भनेर गलत सूचना प्रवाह गरेको घटनासम्मको छानबिन हुन लागेको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसेका डा केसीलाई जबरजस्ती उठाएर काठमाडौं लैजान खोज्ने क्रममा झडप भएको थियो। जस क्रममा प्रहरी जवान कमल आचार्य गम्भीर घाइते भएका थिए। उनलाई गोली लागेको वा सिसा लागेको अझै प्रष्ट हुन सकेको छैन।
प्रहरी संगठनले घटनाको बारेका आन्तरीक छानबिन समिति बनाएको डिआइजी शाहले बताए। समितिमा एसपी केदार रजौले र डिएसपी चुडामणि बुढाथोकी छन्।
प्रहरीले अस्पतालभित्र अत्याधिक बल प्रयोग गरेको भन्दै घटनाको छानबिनका लागि माग हुँदै आएको छ। यद्यपी सरकारले विस्तृत छानबिनका लागि चासो दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।