काठमाडौं- आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घरघरमा तुलसीको बिरुवा रोप्दैछन्। ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ।
आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ। तुलसीलाई भगवान् विष्णुको स्वरुपमा लिइन्छ।
हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने परम्परा छ।
हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्ने विश्वास रहिआएको छ। वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित छ। तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ।
चतुर्मास समेत भनिने ४ महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जनाएका छन्।
आज बिहानदेखि काठमाडौंको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।