इस्लामावाद- पाकिस्तानमा आसन्न निर्वाचनका एक उम्मेदवारको आइतबार हत्या भएको छ।
मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएका हिंसाका घटनामा आइतबार उम्मेदवारकै मृत्यु भएको हो।
घटनामा उम्मेदवारसहित दुई जनाको मृत्यु भएको र अरू केही घाइते भएको प्रहरी अधिकारीहरूले बताएका छन्।
स्थानीय प्रहरी अधिकारी मन्जुर अफ्रिदीले दिएको जानकारी अनुसार गान्दापुरका लागि पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई) का उम्मेदवार इक्रामुल्लाह खान र उनका चालकको हत्या भएको हो।
आत्मघाती हमलामा परी गम्भीर घाइते भएका दुवै जनालाई अस्पताल पुर्याएइएको भए पनि उनीहरुको उपचार हुन सकेन।
आक्रमणकारीहरूले गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएका व्यक्तिलाई लक्षित गरी आत्मघाती बम हमला गरेको प्रहरी अधिकारी अफ्रिदीले बताए।
प्रहरीले घटना भएको क्षेत्रमा १३ प्रहरीलाई खटाए पनि उम्मेदवार खानले प्रहरीलाई खबर नगरी आफ्नै सुरले हिँडेकाले घटना भएको प्रहरी अधिकारीको भनाइ छ।
प्रहरीले यस्ता अप्रिय घटना हुनसक्ने चेतावनी पहिले नै दिएको भए पनि उनीहरूले बेवास्ता गरेको बताइएको छ। आइतबार भएको घटनाबारे अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।
पाकिस्तानमा यही जुलाई २५ मा निर्वाचन हुने तय भएको छ र त्यहीअनुसार निर्वाचन प्रचारप्रसार कार्यक्रम तीव्र भइरहेको छ।
प्रचारप्रसारको तीव्रतासँगै पाकिस्तानमा यस पटकको निर्वाचनका लागि आयोजित कार्यक्रममा भएका आक्रमणहरूमा परी कम्तीमा १ सय ७० जनाको मृत्यु भएको छ भने २ सय न्दा बढी घाइते भएका छन्। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।