काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायाणकाजी श्रेष्ठले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीमाथि सरकारकै मन्त्रीले गरेको टिप्पणीमाथि छानबिनको माग गरेका छन्।
सामाजिक सञ्जालमा उनले कानुनमन्त्री शेरबहादुर तमाङको अभिव्यक्ति दुखद् भन्दै सरकारको गम्भीर ध्यानाकर्षणको माग गरेका छन्।
‘व्यवसायी दुर्गा प्रसाईंले बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्ने नेपाली महिला विद्यार्थीहरुका बारेमा गरेको सार्वजनिक टिप्पणी अन्त्यन्त आपत्तिजनक छ, यसको भत्र्सना गर्दै सार्वजनिक आत्मालोचनाको माग गर्दछु’, उनले लेखेका छन्, ‘साथै कानुनमन्त्रीको यस्तै टिप्पणी अत्यन्त दुखद छ, सरकारको गम्भीर ध्यान जाओस्।’
केही दिनदेखि कानुनमन्त्रीको भनाइको सर्वत्र आलोचना हुँदै आएको छ। चावहिलको एक विद्यालयमा एसइईको परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मानका लागि राखेको कार्यक्रममा मन्त्री तमाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका महिला विद्यार्थीहरु प्रमाणपत्र प्राप्त गर्न यौन कार्यमा संलग्न हुनु परेको आशयको अभिव्यक्ति दिएका थिए।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभिव्यक्ति चर्चामा आएपछि काननुमन्त्रीको पनि उस्तै भनाई सार्वजनिक भएको हो। आलोचना भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्तिले चोट पुग्न गएकोमा माफी समेत मागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।