काठमाडौं– नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन तीन महिनापछि सर्ने भएको छ। नेविसंघका दुई समूहले समानान्तर गतिविधि गर्न थालेसँगै पार्टी नेतृत्वले हस्तक्षेपको प्रयास गरेको हो।
शनिबार राति दुई पक्षका विद्यार्थी नेताहरुलको विवाद मिलाउन पार्टीका शीर्ष नेताहरुको बैठक बोलाइएको थियो। पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको बैठकमा दुबै पक्षले आयोजना गरेको महाधिवेशन तत्काललाई रोक्न निर्देशन गरिएको बताइएको छ। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का लगायतका नेताहरु सहभागी थिए। बैठकमा संघका वर्तमान र पूर्व अध्यक्षहरु पनि उपस्थित थिए।
विधान विपरित असन्तुष्ट समूहले महाधिवेशन बोलाएकाले पार्टी संस्थापन समूहले रोक्न दबाब दिएको थियो। अर्कोतर्फ बहुमत केन्द्रीय सदस्यहरुले महाधिवेशनको निर्णयलाई अनुमोदन गरेकोले अधिवेशन गराएरै छोड्ने असन्तुष्ट पक्षको जोड थियो। संघका अध्यक्ष नैनसिंह महरले अर्को समूहले गर्न लागेको महाधिवेशन हुनै नसक्ने ठोकुवा गरे। ‘महाधिवेशन बोलाउन उनीहरुलाई कुन विधानले दियो', महरले असन्तुष्ट पक्षलाई प्रश्न गरे।
यसैबीच संघको महाधिवेशन मिलेर गर्नका लागि सभापति देउवाले दुवै पक्षलाई छलफलका लागि आफ्नो निवासमा सोमबारका लागि बोलाइएको छन्। शीर्ष नेताहरुको बैठकमा दुवै पक्षका विद्यार्थी नेताहरुलाई बोलाइएको महामन्त्री काफ्लेले जानकारी गराए।
वर्तमान कार्य समितिको कार्यकाल साउन २३ देखि सकिदै छ। विधानतः तीन महिना कार्यअवधि थप्न सकिने प्रावधान छ। सोही प्रावधानको आडमा महाधिवेशन सार्न लागिएको हो।
संघका अध्यक्ष महरले विधान विपरित मनोनित गरेको, इच्छाएका व्यक्तिहरुलाई चिठी दिएर जिम्मेवारी दिएको तथा समयमा महाधिवेशन सम्पन्न गर्न अग्रसरता नलिएको भन्दै असन्तुष्ट पक्षले संस्थापन समूहको विरोध गर्दै आएको छ। नेता पौडेल र सिटौला पक्षका विद्यार्थी नेताहरुले साउन २३ देखि महाधिवेशनको मिति तोकेका थिए। महामन्त्री कुन्दनराज काफ्लेसहित चार उपाध्यक्षले संस्थापन विरुद्धमा समानान्तर महाधिवेशनको तयारी गरेका थिए। असन्तुष्ट पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी सोही अनुसार तयारी गरिरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।