वीरगंज– दोस्रो पटक सम्बन्ध राख्न नमानेको रिसमा एक युवकले प्रेमिकाको क्रुर तरिकाले हत्या गरेका छन्। भारतको पश्चिम चम्पारण वगहा पिपरिया घर भएका १९ वर्षिय प्रमेन्द्र चौधरीले १८ वर्षिय प्रेमिका वनिता कुमारी चौधरीको हत्या गरेका हुन्।
पर्साको जनरनाथपुर–४ मा उनले गत असार २८ गते प्रेमिकाको हत्या गरेका हुन्।
अभियुक्त प्रमेन्द्रलाई पक्राउ गरी आइतबार प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार उनीहरुबीच तीन वर्षदेखि चिनजान थियो। दुवै जना प्रेम सम्बन्धमा थिए। पछिल्लो समय प्रमेन्द्र डकर्मी कामको क्रममा गोरखाको ढकालगाउँमा बस्दथे।
वनितालाई भेट्नका लागि उनी पर्सा आएका थिए। गत २८ गते भलुवाई खोलाको छेउमा रहेको खरबारीमा उनीहरुबीच शारिरीक सम्बनध भएको थियो।
प्रमेन्द्रले दोस्रो पटक पनि सम्बन्ध राख्न दबाब दिएका थिए तर वनिताले मानिनन्। वनिता घरतर्फ हिडिन्।
त्यही रिसमा उनले उनले लगाएको सल घाँटीमा कसेर हत्या गरेका हुन्। हत्यापछि खोला किनारको खाल्डोमा शव छोपेर हिडेका थिए।
प्रहरीले ३१ गते स्थानीयको सूचनाको आधारमा शव बरामद गरी अनुसन्धान अघि बढाएको थियो।
सुरुमा शवको सनाखत समेत भएको थिएन। अनुसन्धानको क्रममा पछि सो शव वनिताको भएको खुलेको हो। उनको परिवारले हराएको भनेर उजुरी दिएका थिए।
अनुसन्धानको क्रममा प्रहरीले प्रमेन्द्रलाई पक्राउ गरेको थियो। उनले आफुले हत्या गरेका स्वीकारेको पर्साका एसपी रेवती ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।