राजविराज– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले सरकारको दुई तिहाईको अहंकारले संवैधानिक व्यवस्था कमजोर भएको बताएका छन्। कांग्रेसले त्यसको सशक्त प्रतिवाद गर्ने उनले बताए।
३६औं विपी स्मृति दिवसको अवसरमा शनिबार आयोजित ‘विचार गोष्ठी’ मा सहभागी हुन सप्तरी आएका रिजालले भने, ‘सरकारको तानाशाही कदम विरुद्ध पार्टीको भूमिकालाई प्रभावकारी बनाइनेछ।’
विरोध गर्न पाउने जनताको संवैधानिक अधिकार पनि सरकारले हरण गरेको रिजालले आरोप लगाए। ‘जनताको मुख थुन्न विरोधका लागि पनि स्थान निर्धारण गरिएको छ’, उनले भने, ‘यसको प्रतिवाद गर्न कांग्रेस एकजुट हुनु जरुरी छ।’
डा गोविन्द केसीले उठाएका मागमा सरकार उदासिन भएको र आतंक मच्चाएको भन्दै रिजालले सरकारको आलोचना गरे।
विपी स्मृति दिवसमा आयोजित विचार गोष्टीमा नेता रिजालले विपीबारे बोल्नेभन्दा पनि अधिकांश सयम सरकारको आलोचना गर्नमै खर्चिए। उनले डा केसीका माग पूरा गराउन कांग्रेसले सडक र सदन दुवै ठाउँमा संघर्ष जारी राख्ने बताए।
सरकारलाई रचनात्मक सहयोग गर्न चाहे पनि बहुमतको अहंकारमा डुबेको सरकार कांग्रेसको सहयोग लिन तयार नभएको उनको भनाइ थियो।
मञ्च भत्किएपछि लडे रिजाल
सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ स्थित डाकनेश्वरी नगरपालिकामा आयोजित कार्यक्रमका लागि बनाइएको मञ्च भत्किएर नेता रिजालसहितका अतिथिहरु लडेका थिए। औपचारिक कार्यक्रम सुरु भएपछि मञ्च भत्किएको थियो।
काम चलाउ मञ्च बनाएर कार्यक्रम सम्पन्न गरिएको र कसैलाई पनि चोटपटक नलागेको आयोजकले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।