काठमाडौं– नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकार प्रजातन्त्र विरोधी भएको आरोप लगाएका छन्। ३६औं बिपी स्मृति दिवसका अवसरमा केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रममा बोल्दै पार्टी सभापति शेरबहादुर देउवाले सरकारले एक दलीय तानाशही व्यवस्था लाद्न लागेको बताए।
‘कम्युनिष्टहरुलाई बिपीले चिन्नुभएको रहेछ। हामीले चिन्न सकेनौं।’, उनले भने। शान्तिपूर्ण विरोध गर्न रोक्नु सर्वसत्तावादी व्यवस्था भएको उनको भनाइ थियो। सभापति देउवाले कम्युनिष्ट प्रजान्त्रतवादी हुनै नसक्ने दावी समेत गरे।
उनले आफ्नो सरकारमा ल्याएको अध्यादेश जस्ताको त्यस्तै पारित हुनुपर्ने माग गरे। भ्रष्टाचार गर्नका लागि सम्वन्धन दिने गरि अध्यादेश तोडमोड गर्न लागिएको प्रति सभापति देउवाले आपत्ती जनाए। ‘गोविन्द केसीका माग जायज छन्। अध्यादेशकै अनुरुप नआए मानिदैन।’, उनले भने।
पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार निरकंशुतातिर जाँदै गरेको आरोप लगाए। संविधानलाई बल पुग्ने काम सरकारबाट नभएको बताउँदै नेता पौडेलले भने, ‘यो दमनकारी सरकार टिक्दैन।’
वर्तमान सरकार समाजवादी हुनै नसक्ने बताउँदै नेता पौडेलले शिक्षा, स्वास्थ्य, रोजगारीप्रति ध्यान नदिएको बताए। १५ साउनको विरोध कार्यक्रम सरकारका लागि चेतावनी र सर्तक गराउन भएको उनले बताए।
पार्टी महामन्त्री डा शशांक कोइरालाले दुबै शिर्ष नेताहरु एक हुन आग्रह गरे। पार्टी एक ढिक्का हुनैपर्ने बताउँदै कोइरालाले भने, ‘दुवै नेताले भनिदिनुस् पार्टी एक हुन हामीले के गर्नुपर्छ?’
विपि कोइरालामा कुनै पनि समय निराशा नदेखिएको उनले स्मरणसमेत गरे।
पार्टी कोषाध्यक्ष सितादेवी यादवले आन्दोलनको विकल्प नभएको बताइन्। नेपाली कांग्रेसले बाटो बिराएको प्रति चिन्ता व्यक्त गर्दै यादवले बिपीका विचार स्मरण गर्न नेता कार्यकर्तालाई सुझाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।