लहान– कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानलाई कारबाहीको माग गर्दै चक्काजाम गरिएको छ। आफ्नै कार्यालयका कर्मचारीलाई कुटपिट गरेको विरोधस्वरुप स्थानीयवासीले आज बिहान पूर्वपश्चिम राजमार्गस्थित सिरहा बस्तीपुरमा चक्काजाम गरेका छन्।
नगर प्रमुख पासवानलाई जबर्जस्ती काम गर्न दबाब दिँदै नगरपालिकाका कर्मचारी बलिराम यादवमाथि कुटपिट तथा दुव्र्यवहार गरेको आरोप लागेको छ। स्थानीयवासीले बिहान ८ बजेदेखि आधा घण्टा चक्काजाम गरेका हुन । चक्काजामका कारण पूर्व र पश्चिमबाट आएका सवारी साधन केही समय रोकिए।
स्थानीयवासीले चक्काजाम गरेपछि इलाका प्रहरी कार्यालय मिर्चैया र कर्जन्हाबाट खटिएको प्रहरी टोलीले हस्तक्षेप गरी बाटो खोलाएको थियो । नगरपालिकाले खरिद गरेको माटो खन्ने जेसिबी गाडीको भ्याट बिलविना नै भुक्तानीका लागि कागजपत्र तयार पार्न भनेको र नमानेका कारण आफूमाथि नगर प्रमुखले कुटपिट गरेको नगरपालिकाका जिन्सी तथा प्रशासन शाखा प्रमुख यादवले आरोप लगाए।
नगर प्रमुख पासवानलाई कारवाही गर्नुपर्ने मागसहित आफूहरुले चक्काजाम गरेको स्थानीयवासी तथा नयाँ शक्ति पार्टीका नेता प्रभात महतोले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।