काठमाडौं– डा गोविन्द केसीका माग सम्बोधनका लागि दबाव दिन आजदेखि सामूहिक अनसन सुरु गरिएको छ।
‘सोलिडारिटी फर डा केसी’ अभियानले काठमाडौंको वसन्तपुरमा बिहान १० देखि सामूहिक अनसन सुरु गरेकाे हाे। आज पहिलो दिन अनसन साँझ ५ बजेसम्म चल्ने बताइएको छ।
अनसनमा सामाजिक अगुवा, चिकित्सक, नर्स, विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, कानुन व्यवसायी, विद्यार्थी तथा आम सर्वसाधारण गरी करिब १ सयभन्दा बढीकाे सहभागिता रहेको छ।
अनसनमा बसेका डा केसीका समर्थकहरुले सरकारले मागका सम्बन्धमा चासाे नदेखाएकाे अाराेप लगाएका छन्। डा केसीकाे माग सुनुवाइका लागि दबाव दिन समर्थकहरु व्यानर, पर्चा तथा पम्पलेटका साथ अनसनमा सहभागि छन्। उनीहरुले डा केसीका माग सम्बाेधन नभएसम्म अनसन जारी रहने जनाएका छन्।
डा केसीको जीवन रक्षा तथा मागहरुको सम्बोधनमा दबाव दिने उद्देश्यले शनिबार मात्रै माइतिघर मण्डलादेखि नयाँबानेश्वरसम्म विशाल प्रदर्शन भएको थियो।
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै डा केसी विगत २३ दिनदेखि अनसनमा छन्। गत असार १६ गते जुम्लामा अनसन बसेका डा केसीलाई सरकारले गत बिहीबार मात्रै काठमाडौं ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।