काठमाडौं– फिल्मसिटीको अध्ययन गर्न भारतीय व्यवसायीहरुको टोली नेपाल आएको छ। इसेल ग्रुपका प्रमुख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइजका अध्यक्ष सुवास चन्द्रा, भारतीय सांसद अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदासहितको टोली नेपाल भ्रमणमा आएको हो। उनीहरुले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
भेटमा प्रधानमन्त्रीले ओलीले नेपालमा फिल्म सिटी स्थापना गर्न लागेकोमा भारतीय कलाकार र लगानीकर्तालाई धन्यवाद दिएका छन्।
उनीहरुले फिल्मसिटी निर्माणको लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरिसकेको छन्। अध्ययनपछि चन्द्राले पालुङटारको नदीदेखि पहाडसम्मको सुन्दर परिवेशको आफुलाई आकर्षित गरेको बताए। ती ठाउँका प्रशंसा गर्दै नेपालमा फिल्म सिटीको स्थापना गर्नका लागि प्रारम्भिक कार्य सुरु भइसकेको उनले जानकारी दिएका छन्।
चन्द्राले आउँदो नोभेम्वर–डिसेम्वरमा जी सिने अवार्ड समारोहको आयोजना काठमाण्डौमै गर्ने र हरेक वर्ष नेपाली फिल्मका लागि समेत एक अवार्डको व्यवस्था गरिने घोषणासमेत गरेका छन्।
भेटघाटका अवसरमा प्रधानमन्त्रीले जी सिने अर्वाड समारोहकै अघिपछिको मिति पारेर काठमाण्डौमा हिमालयन कनक्लेभको समेत आयोजना गरिने घोषणा गरेका छन्।
नेपाली कलाकारहरु समेतको उपस्थितिमा भएको भेटघाटका अवसरमा प्रधानमन्त्रीले जया प्रदाले नेपाल भारत सम्बन्धका लागि साँस्कृतिक राजदूतको भूमिका निर्वाह गर्दै आएको बताउँदै उनलाई धन्यवाद दिए।
भारतीय राजनीतिकर्मी तथा राज्य सभा सदस्य अमर सिंहले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल, सुखी नेपालीको ध्येयलाई मूर्त तुल्याउन सकिएको खण्डमा मात्र भारत पनि सुखी र खुसी हुन सक्ने धारणा व्यक्त गरे।
भेटघाटका अवसरमा नेपालका वरिष्ठ सिने कलाकार नीर शाहले नेपाली फिल्म उद्योगको समग्र अवस्थाको जानकारी प्रस्तुत गर्दै भारतमा नेपाली भाषीहरुको ठूलो जनसंख्या रहे पनि विभिन्न कारणले गर्दा नेपाली फिल्महरुको प्रदर्शन हुन नसकिरहेको बताए।
भेटघाट कार्यक्रममा चन्द्राले सोलुखुम्वूमा आफूले निर्माण गरेको १४० मेघावाट क्षमताको जलविद्युत आयोजनाको बाँकी रहेको चालीस प्रतिशत काम सम्पन्न भएपछि प्रधानमन्त्री ओलीमार्फत नेपाललाई हस्तान्तरण गर्ने घोषणा समेत गरेका छन्। यसैगरी चन्द्राले आफ्नो तर्फबाट पशुपति मन्दिर परिसरमा सिसी क्यामेरा र सौर्य बत्ती जडान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।