तुलसीपुर– साउनको पहिलो साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै दाङका किसानले भुमेबर्माको पूजा गरेका छन्।
तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ गर्ने किसानले शनिबार कुलोको मुहानमा गएर पूजा गरेका हुन्। तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले बताए।
उनले भने,‘पानी परेको छैन र खडेरीका कारण खेती गर्न सकिएको छैन। यसका लागि पूजाआजा गरेमा देवता खुसि भई पानी पर्छ भन्ने जनविश्वासका कारण पूजा गरिएको हो।’
सयौँको सख्यामा किसानहरु कुलोको मुहानमा पूजा गर्न पुगेका थिए। समयमा पानी नपर्दा किसान निकै चिन्तित रहेका छन्। पानी नपर्दा तुलसीपुरको सयौँ विघा जमीन बाँझै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।