काठमाडौं- युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले शनिबार भएको पहिलो अभ्यास खेलमा इंग्ल्यान्डको हाम्पस्रिन हग्सलाई पराजित गरेको छ।
कप्तान पारस खड्काप्रेरित नेपालले हग्सलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
नेपालले दिएको ३ सय ६३ रन पछ्याएको हग्स ३७.१ ओभरमा १ सय १९ रनमा अलआउट भयो। उसका लागि आर्ची नाइटले नटआउट २२ रन जोडे। ह्यारी फिसरले ३३ रन बटुले भने टम बाउचरले २२ रनको योगदान दिए। मिल्स कभरले १८ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा नेपालका स्पिनर ललित राजवंशीले ५ विकेट लिए। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिन सफल भए। १ विकेट करण केसीको नाममा रह्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारसको शतकको सहयोगमा ५० ओभरमा सबै विकेट गुमाएर ३ सय ६२ रन जोडेको थियो। पारसले १ सय ६१ रन बनाए। उनले १ सय ६ बल खेलेर १९ चौका र ७ छक्का प्रहार गरे। उनी खेलको म्यान अफ दि म्याच भए। रोहितकुमार पौडेलले ४४ रन जोड्दा अन्य ब्याट्सम्यान चल्न सकेनन्।
ओपनिङमा आएका सुवास खकुरेलले ११ र ज्ञानेन्द्र मल्लले ५ रन मात्र जोड्न सके। शरद भेषावकर १४ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ३७ रन बटुले। आरिफ शेखले २७, करण केसी र ललित भन्डरीले १६-१६ रन जोडे।
बलिङमा हग्गसका मिल्स कभर्स र जोन पोर्टलले समान ३-३ विकेट लिए।
इंग्ल्यान्डको लर्ड्समा हुने टी–२० सिरिज र नेदरल्यान्ड्समा हुने एकदिवसीय सिरिज खेल्न नेपाली टिम युरोप भ्रमणमा छ।
नेपालले आगामी असार १३ नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ। त्यसपछि नेपाली टिम नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। साउद १६ र १८ मा नेपालले २ खेलको एकदिवसीय सिरिज खेलेर एकदिवसीय खेलमा डेब्यू गर्नेछ। त्यसअघि नेपालले इंग्ल्यान्डमा ४ अभ्यास खेल खेल्नेछ।
नेपालको युरोप भ्रमणको खेल तालिका
अभ्यास खेल
दोस्रो अभ्यास खेल– ७ साउन – नेपाल भर्सेस सेन्ट क्रस (टी–२०)
तेस्रो अभ्यास खेल – ९ साउन – नेपाल भर्सेस इस्ट लन्डन ११ (५० ओभर)
चौथो अभ्यास खेल – १० साउन – नेपाल भर्सेस इस्ट लन्डन सार्कस् (टी–२०)
त्रिकोणात्मक सिरिज
नेपाल, एमसिसी र नेदरल्यान्ड्स – १३ साउन– लर्ड्स मैदान, लन्डन
एकदिवसीय सिरिज
पहिलो एकदिवसीय – १६ साउन– नेपाल भर्सेस नेदरल्यान्ड्स – आम्स्टर्डम
दोस्रो एकदिवसीय – १८ साउन– नेपाल भर्सेस नेदरल्यान्ड्स – आम्स्टर्डम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।