जनकपुरधाम– भारतीय सीमा सुरक्षा बलले धनुषाको जटहीस्थित नेपाल–भारत सीमाको दशगज्जा क्षेत्रमा चेक पोस्ट निर्माण कार्य सुरु गरेको छ। धनुषाको नगराइन नगरपालिका–२, जटही नाकाको दशगजा क्षेत्रमा भारतले जबरजस्ती भन्सार चेक पोस्ट बनाउन लागेको हो।
दशगजा क्षेत्रमा दुवै देशले कुनै पनि निर्माण कार्य गर्न नपाउने जानकारी गराए पनि एकपक्षीय रुपमा भारतीय पक्षले चेक पोस्ट निर्माण कार्य सुरु गरेको सशस्त्र प्रहरी बल बिओपी नगराइनका प्रमुख प्रहरी निरीक्षक जगदिशप्रसाद चौधरीले बताए। ‘भारतीय पक्षले त्यहाँ चेक पोष्ट निर्माण गर्न थालेपछि केही बेर सामान्य विवाद समेत भयो।’, प्रहरी प्रमुख चौधरीले भने,‘ तर भारतले ५१ नम्बरको रिफ्रेन्स सीमा स्तम्भ भित्र चेक पोष्ट निर्माण गरि रहेको छ।’
प्रहरी निरिक्षक चौधरीले यसअघि चेक पोष्ट निर्माण गर्ने विषयलाई लिएर ४ पटकसम्म भारतीय पक्षलाई रोकेको बताए। यसअघि जेठ १५ गते ५१ नम्बर रिफ्रेन्स सीमा स्तम्भ भित्र माटो पुर्ने कार्य भारतीय पक्षले गरेपछि विवाद सुरु भएको हो।
यता स्थल सीमा शुल्क चौकी पिपरौनका सुपरिटेन्डेन्ट मोहम्मद अतहर नूरले भारतीय जग्गामै चेकपोष्ट निर्माण गरिरहेको दावी गरे। उनले भने,‘यो कुनै ठूलो समस्या होइन। यदि नेपाली भूमिमा हामीले चेक पोष्ट निर्माण गरिरहेको पुष्टी भए पछाडी हट्न तयार छौँ।’
नूरले ५१ नम्बरको त्यो सीमा स्तम्भ ‘रिफ्रेन्स’को लागि मात्रै रहेको बताउँदै भारतीय जग्गा त्यो भन्दा अझै अगाडिसम्म रहेको दावी गरे। नेपाली पक्षलाई चित्त नबुझेपछि पटक–पटक नेपालको तर्फबाट धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अमिन ल्याएर नापी गर्न अनुरोध गरेपनि अहिलेसम्म सो काम हुन नसकेको पनि उनको गुनासो थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।