काठमाडौं– उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सहमति भएअनुसार संविधान संशोधन गरेर मुलुकका विभिन्न समस्याहरूको समाधान गरिनुपर्ने बताएका छन्।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले काठमाडौंमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधनमा सहमति भएको दावी गरे।
संविधान संशोधनको चर्चा फेरि एकपटक उठेका बेला उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवले पनि सो विषयलाई पुनः स्मरण गराएका हुन्। ‘जबसम्म शोषण उत्पिडन हुन्छ, तबसम्म राजनीतिक आन्दोलन भइरहन्छ। संघर्षहरू भैरहन्छन्।’, उनले भने,‘जबसम्म राज्यमा एकल वर्चश्व रहन्छ, राजनीतिक समस्या हल भएको मानिँदैन।’
मन्त्री यादवले सवै समस्याको समाधानका लागि संविधान संशोधन गर्ने सहमति भएको बताए। ‘यी यावत समस्या समाधान गर्न संविधान संशोधनको सहमति भएको छ। अब संविधान संशोधन गरेर समस्याको समाधान गर्नुपर्छ।’, यादवले भने।
मन्त्री यादवले विविध आन्दोलने प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै बाँकी अधिकार पनि आन्दोलन र संघर्षबाट प्राप्त गर्नुपर्ने औँल्याए। ‘राजनीतिक अधिकारको संघर्षसँगै आर्थिक उन्नति पनि अपरिहार्य छ’, उनले भने,‘राज्य उदार दिलले पनि समावेशी हुन सकेको छैन।’
अझै पनि संघीय र समावेशितामा विभेद कायम रहेको उनले तर्क गरे। ‘जबसम्म विभेद कायम रहन्छ तबसम्म राजनीतिक समस्या हल भएको मानिदैन’, यादवले भने,‘भाषा, लिङ्ग, जनताका आधारमा गरिने विभेद कायम राखेर समाजवाद आउँदैन।’
लोकतन्त्रलाई पूर्ण समावेसी बनाउने कार्यमा संघीय समाजवादी फोरम नेपालले मात्रै सहयोग गर्नसक्ने मन्त्री यादवको भनाइ थियो।
काठमडौंमा सडक चौडा बनाउने काममा मुआब्जा नदिर्इ सडक विस्तार गर्नु संविधान विपरितको कार्य भएको मन्त्री यादवको तर्क थियो। ‘वैकल्पिक व्यवस्था नगरी सुन्दर शहर बन्दैन’, यादवले भने,‘सांस्कृतिक धरोहरलाई जोगाउनुपर्छ। सांस्कृतिक धरोहरहरू नष्ट भयो भने पहिचान पनि नष्ट हुन्छ।’
संघीय प्रणालीलाई व्यवहारिक बनाउनुपर्नेमा पनि मन्त्री यादवले सुझाव दिएका छन्। ‘संघीयता र पहिचानलाई अलग गरिँदा विद्रोह ज्यूँका त्यूँ रहँन्छ। विद्रोहलाई मत्थर गर्न संघीयतामा पहिचान जोडिनुपर्छ।’, यादवले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।