काठमाडौं- युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले शनिबार पहिलो अभ्यास खेलमा इंग्ल्यान्डको हाम्पस्रिन हग्स बिरुद्धको प्रतिस्पर्धा गरेको छ। खेलमा नेपालका कप्तान पारसले शतक प्रहार गरेका छन्।
पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारसको शतकको सहयोगमा ५० ओभरमा सबै विकेट गुमाएर ३ सय ६२ रन जोडेको छ। पारसले १ सय ६१ रन जोडेका छन्। उनले १ सय ६ बल खेलेर १९ चौका र ७ छक्का प्रहार गरे। रोहितकुमार पौडेलले ४४ रन जोड्दा अन्य ब्याट्सम्यान चल्न सकेनन्।
ओपनिङमा आएका सुवास खकुरेलले ११ र ज्ञानेन्द्र मल्लले ५ रन मात्र जोड्न सके। शरद भेषावकर १४ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ३७ रन बटुले। आरिफ शेखले २७, करण केसी र ललित भन्डरीले १६-१६ रन जोडे।
बलिङमा हग्गसका मिल्स कभर्स र जोन पोर्टलले समान ३-३ विकेट लिए। हग्सले अहिले ब्याटिङ गरिरहेको छ।
इंग्ल्यान्डको लर्ड्समा हुने टी–२० सिरिज र नेदरल्यान्ड्समा हुने एकदिवसीय सिरिज खेल्न नेपाली टिम युरोप भ्रणमा छ।
नेपालले आगामी असार १३ नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ। त्यसपछि नेपाली टिम नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। साउद १६ र १८ मा नेपालले २ खेलको एकदिवसीय सिरिज खेलेर एकदिवसीय खेलमा डेब्यू गर्नेछ। त्यसअघि नेपालले इंग्ल्यान्डमा ४ अभ्यास खेल खेल्नेछ।
नेपालको भ्रणणको खेल तालिका
अभ्यास खेल
पहिलो अभ्यास खेल – ५ साउन – नेपाल भर्सेस हग्स (५० ओभर)
दोस्रो अभ्यास खेल– ७ साउन – नेपाल भर्सेस सेन्ट क्रस (टी–२०)
तेस्रो अभ्यास खेल – ९ साउन – नेपाल भर्सेस इस्ट लन्डन ११ (५० ओभर)
चौथो अभ्यास खेल – १० साउन – नेपाल भर्सेस इस्ट लन्डन सार्कस् (टी–२०)
त्रिकोणात्मक सिरिज
नेपाल, एमसिसी र नेदरल्यान्ड्स – १३ साउन– लर्ड्स मैदान, लन्डन
एकदिवसीय सिरिज
पहिलो एकदिवसीय – १६ साउन– नेपाल भर्सेस नेदरल्यान्ड्स – आम्स्टर्डम
दोस्रो एकदिवसीय – १८ साउन– नेपाल भर्सेस नेदरल्यान्ड्स – आम्स्टर्डम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।