काठमाडौं– डा गोविन्द केसीको स्वास्थ्यमा कुनै पनि समय जटिलता आउन सक्ने भन्दै उनका सहयोगीले तत्काल परिणाममुखी वार्ताका लागि आग्रह गरेका छन्। म्यान्डेटसहितको वार्ता टोली गठन गरी पठाउन माग गरिएको छ।
केसीको वार्ता टोलीको तर्फबाट डा जीवन क्षेत्रीले शनिबार बिज्ञप्ती निकाल्दै चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर सार्थक र परिणाममुखी वार्ताका लागि पूर्ण म्यान्डेटसहित सरकारी टोली आउनासाथ तत्काल वार्तामा बस्ने जानकारी गराएको हो।
बिज्ञप्तीमा भनिएको छ,‘डा केसीले अहिले आफ्नो स्वास्थ्य अवस्था बुझ्न गरिने सामान्य जाँचहरु गर्नसमेत इन्कार गर्नुभएको छ। त्यसले गर्दा निरन्तर बिग्रिरहेको डा केसीको स्वास्थ्य कति गम्भीर छ भन्ने जानकारी पाउन समेत असम्भव भएको छ र कुनै पनि बेला गम्भीर जटिलता आउने सम्भावना बढेको छ।’
सरकारले शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा वार्ता टोली गठन भएको थियो। सो टोलीसँग २ पटक वार्ता भएका थियो। तर, टोलीलाई म्यान्डेट नदिइएकाले वार्तामा कुनै प्रगती भएको छैन।
डा केसी २२ दिनदेखि अनसनमा छन्। उनलाई काठमाडौं ल्याएपनि वार्ताको वातारण बन्ने सरकारी अधिकारीहरुले बताएका थिए। बिहीबार डा केसीलाई जुम्लबाट काठमाडौं ल्याइएको थियो। तर, वार्तामा सरकारले गम्भीरता देखाएको छैन।
शनिबार डा केसीको पक्षमा राजधानीमा बृहत् प्रदर्शन भएको थियो।
यस्तो शनिबार जारी बिज्ञप्ती–
नेपाल सरकारद्वारा यस अघि गठित वार्ता टोलीका तर्फबाट निस्केको प्रेस विज्ञप्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।
डा केसीका तर्फबाट निःशर्त वार्ताका लागि यस अगाडि नै वार्ता टोली गठन भइसकेको थियो र केही चरण वार्तासमेत भएको थियो । तर सरकारद्वारा गठित टोलीसँग आवश्यक म्यान्डेट नभएको र त्यस अवस्थामा वार्ताकै लागि वार्ता गरिरहँदा मुल्यवान समय खेर जाने देखिएकाले सार्थक वार्ताका लागि हाल संसदमा रहेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न र पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन डा केसीले सरकारलाई आग्रह गर्नुभएको थियो ।
यसैबीच डा केसीलाई जुम्लाबाट काठमाडौं ल्याउने क्रममा सरकारद्वारा गरिएको अत्यधिक र नाजायज बल प्रयोग तथा त्यसबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका संरचनामा भएको ठूलो भौतिक तथा मानवीय क्षतिले अवस्थालाई झनै जटिल बनाएको छ किनकि त्यसै कारणले डा केसीले अहिले आफ्नो स्वास्थ्य अवस्था बुझ्न गरिने सामान्य जाँचहरु गर्नसमेत इन्कार गर्नूभएको छ । त्यसले गर्दा निरन्तर बिग्रिरहेको डा केसीको स्वास्थ्य कति गम्भीर छ भन्ने जानकारी पाउन समेत असम्भव भएको छ र कुनै पनि बेला गम्भीर जटिलता आउने सम्भावना बढेको छ ।
त्यसैले विधेयक फिर्ता गरेर सार्थक र परिणाममुखी वार्ताका लागि पूर्ण म्यान्डेटसहित सरकारी टोली आउनासाथ तत्काल वार्तामा बस्ने कुरा जानकारी गराउन चाहन्छौं ।
डा जीवन क्षेत्री
डा गोविन्द केसीको वार्ता टोलीका तर्फबाट
२०७५।४।५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।