पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २० वर्षभन्दा माथि उमेर समूहका खेलाडीको गुणस्तर खस्कदै गएको आरोप लगाएका छन्। उनले २० वर्षभन्दा मुनिका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपनि सोभन्दा माथिका खेलाडीको प्रदर्शन राम्रो हुन नसकेको बताए।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार पोखरामा गरेको अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले भने, ‘२० वर्षभन्दा माथिका खेलाडीको खेलस्तर किन खस्कदै गएको छ अझै बुझ्न सकेको छैन।’
उनले गण्डकी प्रदेशको खेल क्षेत्र उकास्न सधैं तयार रहेको बताए। ‘खेलसम्बन्धी कार्यनीति बनाएर आए प्रदेश सरकार सदैव सहकार्य गर्न तयार छ,’ उनले भने।
खेल क्षेत्रको विकास गर्न सबैभन्दा पहिले पूर्वाधार निमार्णका लागि विधि चाहिने मुख्यमन्त्री गुरुङको भनाइ थियो। ‘व्यक्ति हाबी भएको ठाउँमा विधान महत्वपूर्ण हुँदैन,’ उनले भने, ‘अब राजालाई दोष दिएर उम्किने बाटो छैन। विधान, नीति आफै बनाउने हो।’ उनले पोखरालाई फुटबलको ‘होम ग्राउन्ड’ बनाउन सबै मिलेर काम गर्नसमेत आग्रह गरे।
मुख्यमन्त्री गुरुङले खेलप्रेमीलाई गण्डकी प्रदेशमा फुटबलको विकासको स्वर्णिम युगको सुरुवात भएको सम्झेर अघि बढ्नसमेत आग्रह गरे। आफूले पूरा गर्नसक्ने काममा मात्रै प्रतिबद्दता व्यक्त गरेको उनले प्रष्ट्याए। गुरुङले भने, ‘अरु ठाउँको मुख्यमन्त्रीले के गर्नुहुन्छ थाहा छैन। तर मैले आफूले गर्न नसक्ने कामको प्रतिबद्धता गरेको छैन।’
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबल संघकै इतिहासमा पहिलो पटक आफूहरुले आर्थिक नियमावली बनाएको दावी गरे। ‘नियमावली बनायौं, अब संघलाई कानुनी रुपमा बलियो बनाउन लागिपरेका छौं,’ अध्यक्ष शेर्पाले भने। उनले नेपालको विधान अनुसार नै प्रदेश विधान बनाएर जिल्ला र प्रदेशका संघलाई बलियो बनाउने प्रतिबद्दता गरे। भौतिक पूर्वाधारमा कमजोर भएर पनि फुटबलको विकास हुन नसकेको शेर्पाको भनाइ थियो।
प्रदेश सांसद राजीव पहारीले नेपालको खेलस्तर उकास्न पाठ्यक्रम नै परिवर्तन हुनुपर्ने सुझाव राखे। ‘खेलस्तर विकासका लागि विद्यालयबाटै खेल सम्बन्धी पढाइ हुनुपर्छ,’ उनले भने। उनले प्रदेशमा रहेका खालि जमीन प्रदेश सरकारकै मातहतमा ल्याइनुपर्ने समेत माग गरे।
सांसद विन्दकुमार थापाले खेलकुदलाई पर्यटनसँग जोडेरसमेत लाभ लिन सकिने बताए। उनले प्रदेश सरकारले अन्तर्राष्ट्रिय खेलमैदान बनाउन प्रयत्न गरिरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।