‘डा गोविन्द केसी कांग्रेसको उक्साहटमा सरकार विरुद्ध अनसन बसिरहेका छन्’, सत्य ढाक्न सत्तापक्षले लगाइरहेको आरोप हो यो।
चिकित्सा शिक्षा सुधारका विषयमा डा केसीले पछिल्ला ६ वर्षदेखि सरकारको नेतृत्व गरिरहेका सबै पार्टीका सरकारलाई चुनौती दिइरहेका छन्। त्यसैले चिकित्सा शिक्षा र डा केसीलाई नजिकबाट बुझ्नेहरुले यो आरोप पत्याइहाल्ने कुरा भएन।
डा केसीका आफ्नै मुद्दा छन्। ती मुद्दाको सुनुवाई गर्ने आफ्नै शैली छ र उनी आफ्ना मुद्दा स्थापित गर्न आफूलाई मात्रै दुःख दिइरहेका हुन्छन्। विभिन्न पार्टी, संगठन र समूहहरु आफ्ना स्वार्थ अनुसार उनलाई समर्थन गर्न आउँछन्। त्यही स्वार्थ अनुसार उनी विरुद्ध खनिन्छन् र लाञ्छना लगाउँछन्। विरोधका लागि सत्याग्रही बाटो समातेका उनी प्रतिक्रिया विहीन रहन्छन्। न यस्ता आरोपबाट विचलित हुन्छन्, न त्यस्ता समूहका समर्थनबाट उत्साहित।
१५ औं अनसनमा आइपुग्दा भने नेपाली कांग्रेस डा केसीको जबर्जस्त समर्थक हुन आइपुगेको छ (यही पार्टीका एक नेता गगन थापा भने सधैं समर्थनमै हुन्छन्)। कांग्रेसले संस्थागत रुपमा डा केसीको मागलाई ‘आफ्नो’ महशुस गरेको पनि पहिलोपल्ट हो।
सहजै भन्न सकिने कुरा के हो भने, चिकित्सा शिक्षाका विषयमा डा केसीका माग जायज नै ठानेर कांग्रेसले अहिले समर्थन गरेको होइन। यदि उसलाई डा केसीको माग जायज नै लाग्थ्यो भने त यसअघि पटक–पटक सत्तामा हुँदा नै माग पूरा गराउन पहल गथ्र्यो। कुनै कारणले पूरा गर्न नसकेको भए त्यतिबेला र अहिले पनि जनतासँग माफी माग्थ्यो होला।
उक्त दलले आफू सरकारमा रहेका बेला डा केसीको मागलाई गम्भीर रुपमा लिइदिएको भए चिकित्सा शिक्षामा कायापलट भइसक्थ्यो। वा कम्तिमा त्यसको संकेत देखा पर्न थाल्थ्यो। यस्ता जनपक्षीय मुद्दा आत्मसाथ गर्ने ल्याकत काँग्रेस नेतृत्वमा हुँदो हो त यतिबेला विपक्षी दलको दुई तिहाई सरकार झेल्नुपर्ने थिएन। सके आफैं यो हैसियतमा हुन्थ्यो, नभए लुरे प्रतिपक्षी चाहिँ बन्दैनथ्यो।
त्यसैले अहिले पनि ऊ प्रतिपक्षीय धर्म निर्वाह गरिरहेको छ भन्दा अत्युक्ति हुँदैन।
डा केसीको १५ औं अनसनमा भने कांग्रेसले अभूतपूर्व सक्रियता देखाएको छ। सांसदहरु संसदमा भिडेका छन् र भातृ संगठनहरु सडकमा। एउटा सत्याग्रहीका सही मागमा संसदमा सक्रियता देखाउनुलाई अन्यथा लिइनु हुँदैन। त्यसैले कांग्रेसका सांसदले गरेको उक्त कार्यप्रति आभार प्रकट गर्नुपर्छ।
सडकमा भने डा केसीकै माग सम्बोधन गराउने उद्देश्यले मात्रै कांग्रेस भिडेको हो भन्ने देखिदैन। एउटा सत्याग्रही डाक्टरको काँधमा टेकेर सत्तापक्षीलाई गलाउने ‘दुराग्रह’ पालेर कांग्रेस अघि बढिरहेको छ भन्ने पछिल्ला घटनाक्रमले देखाउन थालेका छन्। त्यसका जल्दाबल्दा उदाहरण शनिबारका दुई घटना हुन्।
पहिलो, डा केसीका पक्षमा निस्किएको शान्तिपूर्ण जुलुसमा उसका भातृसंगठन तरुण दलले फैलाएको अशान्ति। दोस्रो, त्रिवि सिनेटमा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गरिएको कालो झन्डा प्रदर्शन र नाराबाजी।
अरुलाई बाधा, हानी र दुःख नहोस् भनेर आफैंलाई दुःख दिने आन्दोलन हो, अनशन। तर यसरी आफ्नो आन्दोलन जारी राखेका डा केसीको समर्थनमा तोडफोड र ढुंगामुढा प्रहार गर्नु पूरापूर नाजायज काम हो। आफ्ना माग आफ्नै बलबुतामा सुनाउन डा केसीले आफूलाई १५ औं पल्ट भोको र प्यासी राखेको पनि २२ औं दिन भइसकेको छ। तर कांग्रेस कार्यकर्ताले शनिबार बानेश्वरमा जुन खाले व्यवहार देखाए त्यसले डा केसीलाई नै पिडा थप्ने छ। यस्तै झडप र तोडफोड हेर्न र सुन्न नसकेर नै उनी ईच्छा विपरित सरकारी हेलिकोप्टर चढेर काठमाडौं आइपुगेका हुन्।
त्यसैले अरुलाई दुःख दिन नचाहनेको एजेन्डालाई समर्थन गर्ने समूहको नियत पनि त्यस्तै हुनुपर्छ। उनीहरुले पनि त्यो आन्दोलनको मर्म बुझ्नुपर्छ।
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति, नेपालका संयोजक डा बाबुराम भट्टराई, नागरिक अगुवा कृष्ण पहाडी, पूर्व प्रधान न्यायधीश शुशिला कार्की, लेखक खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइराला र करिष्मा मानन्धर समेत सम्मिलित र्यालीले संयमता र शान्ति कायम राखेको पनि थियो। नागरिक तहको उक्त र्यालीमा कांग्रेसकै गगन थापा मात्रै होइन, विवेकशील साझाका रविन्द्र मिश्र, नयाँ शक्तिकी हिसिला यमी लगायत नागरिककै हैसियतमा सहभागी थिए।
उक्त जुलुसमा विशाल जनमानस सहभागी भए पनि शान्त थियो। अर्थात सभ्य र भव्य थियो। सडक किनारका फूल र बिरुवालाई समेत हानी नपुगोस् भनेर बिशेष सतर्कता अपनाइएको थियो। मानवसाङ्लोको बीचमा डा केसीका समर्थकहरुलाई हिँडाइएको थियो।
प्रदर्शनपछि आयोजित कोणसभा छेवैमा अर्को कार्यक्रम गरिहेको कांग्रेस भातृ संगठन तरुण दलले भने संयमता गुमायो। ऊ प्रहरीसँग जुध्न र आफूलाई प्रचारित गर्न उद्दत भयो। जसले गर्दा नागरिक समाज सहितको मुख्य कार्यक्रमकै आलोचना भयो। जो त्यहाँ स्वयं उपस्थित भएका थिएनन् र फेसबुक तथा युट्युवबाट प्रत्यक्ष हेरिहरेका थिए, उनीहरुले खासै भेउ पाउने स्थिति कमै थियो। दुई कार्यक्रम छुट्टाछुट्टै भएर पनि तरुण दलको उग्रताको कारण शान्तिपूर्वक सम्पन्न भइरहेको फरक कार्यक्रम पनि बदनाम भयो।
नागरिक दबाब समूहले कोणसभा गरिरहेका बेला तरण दलको झन्डा सहित आएको हुलले सत्याग्रहको मर्म विपरित तोडफोड र ढुंगामुढा गर्नु उचित काम होइन। जसले गर्दा शान्तिपूर्ण जुलुस विथोलिन पुगेका थियो र उल्टो जन दबाब समूहले क्षति बेहोर्नु परेको छ। कांग्रेस कार्यकर्ताको उक्त हर्कतको जवाफमा टियर ग्याँस हानियो। त्यसकारण उक्त र्यालीलाई सम्बोधन गर्न पुगेकी मनिषा कोइराला लगायतका सम्बोधन नै नगरी भाग्नुपर्ने अवस्था बन्यो।
यो कार्यले डा केसीका माग सम्बोधन गराउने नागरिकको ‘नैतिक दबाब’लाई एक कदम पछाडि धकेलिदिएको छ। डा केसी कांग्रेसको उक्साहटमा अनशन बसेको भन्ने आरोप लगाउने सत्तापक्षलाई झनै सजिलो भएको छ। यसै पनि तथ्यभन्दा पनि तर्कले डा केसीलाई गल्न बाध्य बनाइरहेको सत्ता पक्षलाई ‘भन्ने र खेल्ने’ ठाउँ दिइनु हुँदैनथ्यो। तर, यो घटनाले दियो। संवेदनशील समयमा जे कुरा ख्याल गर्नुपथ्र्यो, त्यसैमा चुकियो।
ट्वीटर र फेसबुकका टाइमलाइनमा सत्ता पक्षीयले ‘डा केसीका समर्थकको अराजकता’ भन्दै मन्त्रीको गाडी तोडफोड गरिएका र प्रहरीमाथि ढुंगा हानिएका तस्बिर अभियानका रुपमा फैलाएका छन्।
कांग्रेस साँच्चिकै डा केसीका माग पूरा होउन् भन्ने चाहन्छ भने उसले सडकका अराजकतामा लगाम लगाउनुपर्छ। आफ्ना भातृ र भगिनी संगठनलाई नियन्त्रण गर्नुपर्छ। डा केसी र सत्ता पक्ष बीचको दूरी बढाउने सबै खालका क्रियाकलाप गर्न बन्द गर्नुपर्छ। सम्भव भएसम्म डा केसी र सरकारका बीच संवादका लागि पहल गर्नुपर्छ।
त्यसो गर्न नसक्ने हो भने एउटा सत्याग्रहीको एजेन्डाका आडमा बलियो प्रतिपक्ष हुने दुराग्रह भने त्याग्नैपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।