काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदै नभएको विषयलाई विषय बनाउन खोजेर पार नलाग्ने बताएका छन्।
त्रिभुवन विश्वविद्यालयलको ५९औं वार्षिकउत्सवको सन्र्दभमा शनिबार किर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको विरोधमा सडक र सदन संघर्षका कार्यक्रम घोषणा गर्दैगर्दा प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो। उनले भने,‘सानातिना कुरामा अलमलिने वा ननइस्युलाई इस्यु बनाउन खोजेर पनि पार लाग्दैन। वेस्ट अफ टाइम। अर्थात् समयको बरबादी गर्छ। साह्रै दामी समयमा हामी छौं। अत्यन्तै मुल्यवान समयलाई खेर जान दिँदैनौँ।’
आफूमाथि विभिन्न आरोप लाग्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने,‘मेरा भनाइहरु अनवरत यिनै हुन्। यस्तै हुन्।’
लक्षविनाको योजना सफल नहुने भन्दै उनले क्षेत्रगत अध्ययन, अनुसन्धान र विश्लेषण सहितको योजनावद्ध विकासमा लाग्नुपर्ने धारणा राखे। ‘विद्यार्थी कति आउँछन् भनेर एउटा किराना पसल थाप्नु र क्याम्पस स्थापना गर्नु उस्ता–उस्तै हो।’
प्रधानमन्त्री ओलीले दक्ष र सक्षम जनशक्ति तयार गरी निर्दिष्ट लक्ष सहित योजनावद्ध विकासमा लाग्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।