नेपालगञ्ज– जिल्ला प्रशासन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७४/०७५ मा ८ सय जनालाई वैवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र वितरण गरेको छ। जिल्ला प्रशासन कार्यालय, कोहलपुर इलाका प्रशासन कार्यालय र नरैनापुर इलाका प्रशासन कार्यालयबाट त्यस अवधिमा १६ हजार ४ सय ५१ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए।
प्रजिअ केसीका अनुसार त्यस अवधिमा ६ हजार १ सय ३३ जनालाई राहदानी वितरण गरिएको छ।
पूँजीगत बजेटको ८२ प्रतिशत खर्च
बाँके जिल्लाको समग्र विकासका लागि गत आर्थिक वर्ष २०७४÷०७५ मा विनियोजित बजेटमध्ये चालू खर्चतर्फ ९ अर्ब ४२ करोड ७० लाख र पूँजीगत खर्चतर्फ ६ अर्ब ५६ करोड ५९ लाख रुपैयाँ खर्च भएको छ।
गत आवमा चालू खर्चतर्फ १० अर्ब १७ करोड ४७ लाख र पूँजीगत खर्चतर्फ ८ अर्ब ३ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। औसतमा जिल्लामा पूँजीगत बजेटको ८१ दशमलव ७२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख ठाकुरप्रसाद पौडेलले बताए।
असारमा मात्र चालू खर्चतर्फ १० करोड र पूँजीगत खर्चतर्फ ३२ करोड भुक्तानीका लागि कोलेनिकाबाट चेक काटिएको थियो।
४ सय ७५ मुद्दा फर्छ्याेट
जिल्ला प्रशासन कार्यालय बाँकेले गत आवमा ४ सय ७५ अर्धन्यायिक मुद्दा फर्छ्याेट गरेको छ। प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार दर्ता भएका ७ सय ४६ मुद्दामध्ये २ सय ७१ मुद्दा अझै फर्छ्याेट हुन बाँकी छन्।
गत आवमा सार्वजनिक अपराध, हातहतियार खरखजाना, सवारी ज्यानको क्षतिपूर्ति, न्यून गुणस्तर तथा दूषित खाद्य पदार्थ, कालोबजारी, आवश्यक वस्तु संरक्षण र ठाडो उजुरीलगायत मुद्दा दर्ता भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।