द हेग– नेदरल्यान्ड र टर्कीको आपसी कूटनीतिक सम्बन्धमा शुक्रबार पूर्णरूपमा सुधार आएको दावी गरिएको छ।
दुई देशको तर्फबाट जारी गरिएको संयुक्त वक्तव्यमा गत हप्ता ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनका क्रममा यी दुई देशका विदेश मन्त्रीहरूको वार्ता भएपछि सम्बन्धमा सुधार आएको उल्लेख छ।
‘नेदरल्यान्ड र टर्कीको कूटनीतिक सम्बन्धलाई सामान्य अवस्थामा ल्याउनका लागि दुवै पक्ष सहमत भएका छौं।,’ वक्तव्यमा भनिएको छ।
आपसी सम्बन्धलाई बिस्तार गर्दै आङ्करा र द हेगमा आ–आफ्नो देशका राजदूत पठाउने बारेमा पनि सहमति भएको वक्तव्यमा जनाइएको छ।
द हेग (नेदरल्याण्ड)ले आङ्करा (टर्की)का लागि पठाएको राजदूतलाई गत फेब्रुअरीमा फिर्ता बोलाएको थियो।
‘दुई देशको सम्बन्धमा अहिले फेरी सुधार आउनु धेरै खुसीको कुरा हो, हामीले यसलाई कायम गरिरहने छौं।,’ नेदरल्यान्डका विदेश मन्त्री स्टेफ ब्लोकले भने।
नेदरल्यान्ड र टर्कीबीचको सम्बन्धमा सुधार आएकोमा अन्य छिमेकी राष्ट्रहरूले पनि खुसी व्यक्त गरेका छन्।
गत वर्ष सन् २०१७ मा नेदरल्यान्डमा भएको निर्वाचन कार्यक्रममा टर्कीका दुई जना मन्त्रीको सहभागिताको विषयलाई लिएर दुई देशका बीचमा विवाद भएको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।