म्याड्रिड– पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले स्पेनिस अदालतबाट कर छली गरेको आदेश स्वीकार गर्दै जरिवाना बुझाएका छन।
उनले छलीबापत सुनाइएको १२.१ मिलियन पाउन्ड तिरेका छन् भने २ वर्षको जेल सजाय पनि स्वीकार गरेका छन्। यद्पयी स्पेनिस कानुनअनुसार गम्भिर अपराध नगरेको अवस्थामा २ वर्ष भन्दा कमको सजायमा जेल बस्नु पर्दैन। जेल नबसेको अवस्थामा निश्चित रकम जरिवाना बुझाउनु पर्छ।
स्पेनिस रेडियो स्टेसन कानेडा कोपका अनुसार ३३ वर्षीय रोनाल्डोले १२.१ मिलियन पाउन्ड बुझाएका छन् भने ४.७ मिलियन पाउन्ड बुझाउन बाँकी छ। रोनाल्डोले कर झालेका कारण स्पेन छाड्न चाहेको बताइएको छ।
रोनाल्डोलाई सन् २०११ देखि २०१४ सम्ममा एक करोड ४७ लाख युरो कर छलेको अभियोग लगाइएको थियो। रोनाल्डोलाई आफ्नो ‘इमेज राइट’ बाट भएको भएको कमाइ लुकाउन नक्कली व्यवसायिक संरचना खडा गरेको आरोप लगाइएको थियो। यसमा स्पेनिस अदालतले रोनाल्डोलाई दोषी ठहर गरेको थियो।
रोनाल्डो गत साता युभेन्ट्समा आबद्ध भएका थिए। स्पेनिस फुटबल क्लब रियल म्याड्रिडमा रहेका उनी ९९.२ मिलियन पाउन्ड (१४ अर्ब ४३ करोड रुपैयाँ) मा युभेन्ट्समा आबद्ध भएका थिए। ३३ वर्षीय रोनाल्डोले इटालियन च्याम्पियनसँग ४ वर्षको सम्झौता गरेका थिए।
यसअघि रियल म्याड्रिडमा रोनाल्डोले ९ सिजन बिताएका थिए। त्यस क्रममा उनले रियललाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए। योसँगै रोनाल्डो विश्वका चौथो महँगा फुटबलर बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।