काठमाडौं– भैरहवामा सानो टेलरिङ चलाउँछिन्, ४७ वर्षीया कमला रसाइली। उनको आर्थिक अवस्था कमजोर छ। तर, उनको नाममा रहेको कम्पनीले भने वर्षमा करोडौंको कारोबार गर्छ।
उनको नाममा 'शिव इन्टरप्राइजेज' नामक कम्पनी छ। जुन कम्पनीले भारतबाट ३८ करोड रुपैयाँ बराबरको सामान आयात गरेको देखिन्छ। तर, उनको दैनिकी भने कपडा सिलाएरै बित्ने गरेको छ। उनकै नाममा रहेको चेकबाट रकम भुक्तानी हुन्छ। तर, कम्पनीको कारोबारबारे उनलाई कुनै जानकारी हुँदैन।
राजश्व अनुसन्धान विभागका अनुसार सो कम्पनीले नक्कली बिलबिजक प्रयोग गरी ८८ करोड रुपैयाँ बराबरको कर छली गरेको देखिन्छ। भैरहवाका नवराज उपाध्यायले रसाइलीको नाममा कम्पनी खोलेर नक्कली भ्याटबिलहरु बनाएर करोडौं कर छली गरेका हुन्। राजश्व अनुसन्धान विभागले उपाध्याय, उनका छोरा सशांक खनाल र रसाइलीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
‘कर छलीकै उद्देश्यले अर्काको नाममा कम्पनी खोलेर कारोबार गरेको देखिन्छ,’ राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले भने, ‘त्यसबापत ती महिलाई १५-२० हजार रुपैयाँ दिने गरेको देखियो।’ छानबिन भए पनि आफूहरु जोगिने योजना बनाएर उनीहरुले रसाइलीको नाममा कम्पनी खोलेर कारोबार गरेका थिए।
सो कम्पनीले नक्कली भ्याटबिल बनाउनेदेखि एउटै नम्बरमा धेरै वटा बिल बनाएको अनुसन्धानमा खुलेको छ।
वर्षाैंदेखि उनीहरुले नक्कली बिलबिजक जारी गरी राज्यलाई ठग्दै आएको अनुसन्धानमा आबद्ध विभागका कर्मचारीहरु बताउँछन्।
गुप्ताको बैंकमा करोडौं भेटियो
लामो समयदेखि नक्कली बिलबिजकका कारण राजश्व छली गर्दै गएका हिमालयन कार्गाेका सञ्चालक विनोद गुप्ताको बैंक खातामा करोडौं रकम फेला परेको छ। उनको सबै बैंक खाता रोक्का गरिएको छ।
तीन साताअघि विभागले उनलाई पक्राउ गरेको थियो। गुप्ताले भन्सार कार्यालयहरुमा सेटिङ मिलाई नक्कली प्रज्ञापनपत्र तथा बिलबिजक प्रयोग गरी सामान तस्करी गर्दै आएका थिए। भारतीय नागरिक गुप्ताले श्रीमतीको नाममा कम्पनी खोलेर अवैध कारोबार गर्दै आएका हुन्। उनको बैंक खातामा करिब १५ करोड नगद भेटिएको छ।
भन्सार नतिरी ल्याइएको एक ट्रक पाउडर दूध गत महिना कलंकीमा बरामद भएको थियो। नेपालगञ्ज भन्सार कार्यालयका कर्मचारीसँगको मिलेमतोमा सो तस्करी भएको थियो। तस्करीमा सहयोग गर्ने कर्मचारीहरुलाई अर्थ मन्त्रालयले त्यहाँबाट हटाइसकेको छ।
गुप्तासहित तीन जनालाई विभागले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। गुप्ताको नेपालमा करोडौं सम्पती भेटिएको तर कर भने नतिरेको विभागका महानिर्देशक मैनालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।