धनगढी- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले शहरमुखी र व्यापारीहरुलाई फाइदा हुने गरी चिकित्सा शिक्षा विधेयक ल्याउन खोजेको आरोप लगाएका छन्।
‘देश नयाँ संरचनामा गइसकेको छ। हरेक प्रदेशमा सरकारी मेडिकल कलेज, गुणस्तरीय स्वास्थ्य संस्था खोल्नुपर्छ’, आज धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता सिंहले भने ‘तर, अझै सरकार शहरीमुखी र व्यापारीहरुलाई फाइदा हुने क्रियाकलापमा ध्यान दिइरहेको छ।’
उनले चिकित्सक शिक्षा विधेयक (ने क पा)को सरकारले आफ्नै पार्टीका कार्यकर्ता, लगानीकर्ताहरुलाई फाइदा हुने गरी तोडमोड गरेर ल्याउन लागेको आरोप लगाए। ‘डा गोविन्द केसीको माग जायज छन्। उनको जिवन रक्षा गर्नुपर्छ र हामीले जारी गरेको अध्यादेश हुबहु ल्याउनुपर्छ।’, उनले भने, ‘माथेमा प्रतिवेदनले दिएको सुझावलाई अंगिकार नगरी सरकार बहुमतको दम्भमा अगाडि बढिरहेको छ।’
नेता सिंहले विधेयक तोडमोड गरेर ल्याएमा र आम नागरिकको चाहनाविपरित काम गरेमा नेपाली कांग्रेसले सडकदेखि सदनसम्म सशक्त ढंगमा प्रदर्शन गर्ने चेतावनी दिए।
उनले माथेमा प्रतिवेदनले दिएको सुझाव अनुसार विधेयक जारी भएमा अस्पतालको गुणस्तर, आम गरिव नागरिकको शिक्षामा पहुँच र शिक्षा क्षेत्रमा सुधार हुने दावी गरे।
वर्तमान सरकार अधिनायकवादी र सर्वसत्तावादीलाई बढुवा दिइरहेको बताउँदै नेता सिंहले भने, ‘कहिले उपकुलपतिलाई एयरपोर्टबाटै फर्काएको छ त कहिले अस्पतालमा काम गरिरहेको डाक्टरलाई जवरजस्ती उठाएर लग्छ। यस्तो अवस्थामा जायज मागलाई सम्बोधन गर्नुको ठाउँमा दबाउने प्रयास गरिरहेको छ।’ उनले जुम्लामा डा केसीको समर्थकमाथि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको घटनाको निन्दा समेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।