काठमाडौं– चिकित्सा शिक्षामा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसीसँगको वार्ता अनिश्चित भएको छ। सडा केसीको स्वास्थ्य बिग्रदै जाँदा सरकारले वार्ताका लागि गम्भीरता देखाएको छैन।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बसेका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ। उनी शिक्षण अस्पताल महाराजगञ्जमा छन्। उनका माग सम्बन्धमा वार्ताबारे अन्योल देखिएको छ ।
डा केसीसँग थप वार्ताबारे छलफल भएपनि अर्काे निर्णय भइनसकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए।
यसअघि केसी पक्षले प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान राखेको र सरकार त्यसमा सहमत नभएपछि वार्ता स्थगन भएको हो । डा केसीले म्यान्डेटसहितको वार्ता टोलीको पनि माग गरेका छन्।
सरकारले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो। तर, सो टोलीलाई कुनै सम्झौता गर्न सक्ने म्यान्डेट दिइएको थिएन। डा केसी र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अघिल्लो सरकारले ल्याएको १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेजको सम्बन्धन रोक्काको व्यवस्था भएको चिकित्सा शिक्षा अध्यादेशको मर्मअनुसार नै विधेयक आउनुपर्ने अडान छ भने सरकार विधेयकलाई संसदीय प्रक्रियाबाट टुंगो लगाउने पक्षमा छ।
डा केसीलाई ल्याउनु अत्यावश्यक भएकाले विहीबार बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिए।
अनशनरत डा केसीलाई हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। डा केसीले आफुले कुनै पनि औषधी प्रयोग नगर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।