विराटनगर– अदालतको गेटबाट प्रहरीले पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। मेड इन यूएसए लेखिएको स्वचालित पेस्तोल, त्यसको गोली ३ राउण्ड र नियन्त्रित लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका–९ मा डेरा गरि बस्ने मोरङ बेलबारी नगरपालिका–७ घर भएका ३३ वर्षीय संजय चौधरी भन्ने सूर्य नारायण चौधरी, मोरङ सुन्दरहरैचा नगरपालिका–२ बस्ने २० वर्षीय राज चौधरी र सुनसरी दुहवी नगरपालिका–२ बस्ने २७ वर्षीय मोहमद अलाउदीन छन्।
मोरङ बिराटनगर महानगरपालिका–७ स्थित मोरङ जिल्ला अदालतको गेट बाहिर शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा मंकगलबार प्रहरीले सूर्य नारायण र राजको शरिर तलासी लिदा सूर्य नारायणको साथबाट ३० चक्की नाईट्रोसन र राजको साथबाट २० चक्की नाईट्राभेट गरी जम्मा ५० चक्की नियन्त्रित लागूऔषध बरामद भएपछि थप अनुसन्धानको क्रममा सूर्य नारायणको घरमा तलासी लिँदा बुधबार उक्त हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानकै क्रममा उक्त पेस्तोल सूर्य नारायण चौधरीले मोहमदको साथमा भारत गई खरिद गरी ल्याएको बुझिएकोले मोहमदलाई समेत मोरङ बुढीगंगा गाउँपालिका–४ बाट बिहीबार प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।