भेडेटार– ‘पहिला–पहिला कोही आयो भने झर्को लाग्थ्यो, अहिले त कोही पाहुना आएन भने शून्य लाग्छ’, धनकुटाको नाम्जेमा ७ वर्षदेखि होमस्टे (घरबास) सेवा सञ्चालन गर्दै आएकी दिलकुमारी मगरको भनाइ हो यो।
धनकुटाको नाम्जे गाउँमा यतिबेला दैनिक रुपमै आन्तरिक र बाह्य पाहुना पुगिरहेका हुन्छन्। सन् २०११ मा अमेरिकी समाचार माध्यम सिएनएनले विश्वका घुम्न छुटाउन नहुने प्रमुख १२ मध्ये आठौं स्थानमा नाम्जेलाई राखेसँगै नाम्जे गाउँले पहिचान बनायो।
त्यसपछि नाम्जेको प्रचार–प्रसार भएसँगै पाहुनाहरु सोधखोज गर्दै आउन थालेका हुन्।
कोसी राजमार्गमा पर्ने भेंडेटार बजारदेखि ४ किलोमिटर पूर्वमा पर्छ नाम्जे। गर्मीयाममा शीतल हुने र जाडोमा पारिलो घाम लाग्ने भएकाले यो ठाउँ पर्यटकको रोजाइमा पर्छ। अहिले गर्मी छल्न भेडेटार आउनेहरु नाम्जेसम्म तानिँदै आउँछन्।
समुद्री सतहदेखि १७ सय मिटरको उचाइमा रहेको नाम्जेमा मगर समुदायको बाहुल्य छ। करिब तीन सय मगर परिवारको बसोबास रहेको यहाँ सुरुवातमा स्थानीयले आफैं गर्दै/सिक्दै होमस्टेलाई फैलाएको पाइन्छ।
‘सुरुमा होमस्टे छ रे भन्दै धेरै मान्छे सोध्दै आउन थाले। त्यसपछि जानी–नजानी उनीहरूले भने जस्तै गर्दै जाँदा घरैमा पैसा आउन थालेको छ,’ दिलकुमारीले सुनाइन्।
अर्का होमस्टे सञ्चालक जगतबहादुर मगर पनि होमस्टेले विश्व नै घुमाएको अनुभव सुनाउँछन्। नेपालीहरुसँगै विदेशी पाहुना पनि आउने भएकाले उनीहरुसँगको भेटघाटले विश्व घुमेको अनुभव हुने उनको भनाइ छ।
सागुरीगडी गाउँपालिकामा पर्ने नाम्जेमा उसिनेको आलु, अर्गानिक सागसब्जी, लोकल कुखुरा, भुटेको मकै–भटमास, गुन्द्रुकको अचार तथा मगर परिकार मुख्य आकर्षक मानिन्छन्।
स्थानीयले २०५८ सालदेखि फाट्टफुट्ट रुपमा होमस्टे सेवा सुरु गरे पनि २०६५ देखि भने व्यावसायिक रूपमा सुरु हुँदै २०७० देखि संस्थागत रूप लिएको हो।
‘अहिले नाम्जे सामुदायिक होमस्टेमा १९ घर दर्तामा छन्। तर, १५ घरले मात्र होमस्टे चलाउँदै आएका छन्’, सामुदायिक होमस्टेका अध्यक्ष अनिल राना भन्छन्, ‘जानी–नजानी सुरु गरेको होमस्टे अहिले प्रतिस्पर्धा रूपमा अगाडि बढिरहेको छ।’
होमस्टे सञ्चालकहरुका अनुसार, एक घरले मासिक रूपमा ३० हजारदेखि ५० हजारसम्म आम्दानी गर्ने गर्छन्। होमस्टे नहुनेले अर्गानिक तरकारी उत्पादन गरेर पनि आम्दानी गरिरहेका छन्।
होमस्टे सुरु भएयता विदेश जाने युवाहरु गाउँमै रोकिएका छन्। गाउँमै राम्रो आम्दानी हुने भएपछि विदेशको मोह त्यागेको स्थानीय युवा रमेश मगर सुनाउँछन्।
पहिला मगर मात्रको बसोबास रहेको नाम्जेमा अहिले सहरका व्यापारीहरुले पनि होटल सञ्चालन गर्न थालेका छन्। होमस्टेकै कारण नाम्जेले आफ्नो पहिचान स्थापित गर्दै गए पनि बाहिरबाट आएर व्यवसाय सञ्चालन गर्नेहरुले त्यसको मौलिकतामा असर परिरहेको स्थानीयको गुनासो छ।
इटहरी, धरान र विराटनगर लगायतका ठाउँबाट आएर होटल सञ्चालन गर्नेहरुले होमस्टेको मौलिक पहिचान बिगारेको अध्यक्ष रानाले बताए।
सडक आसपासमा ठूल्ठूला होटल खुलेदेखि होमस्टेको पहिचानमा संकट आउन थालेको हो।
स्थानीय सरकारले नाम्जेमा ठूला होटल निर्माणमा रोक लगाएर मौलिक पहिचानमा आधारित व्यवसाय सञ्चालनमा प्रोत्साहन गर्न सके नाम्जे आकर्षक गन्तव्य बन्ने रानाको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।