रामेछाप– अत्याधिक मदिरा सेवन गरी होटलमा किशोरीको बलात्कार गर्न खोज्ने सहरी विकास तथा भवन डिभिजन कार्यालयका इन्जिनियर पक्राउ परेका छन्। इन्जिनियर इन्द्र साहलाई रामेछाप प्रहरीले पक्राउ गरेको हो।
गत असार २६ गते उनले मन्थलीको एक होटलमा किशोरीको बलात्कार प्रयास गरेका हुन्। उनी अत्याधिक मदिरा सेवन गरी होटलमा गएका थिए। एसइइको मौका परिक्षा दिन सदरमुकाम आएका दुई किशोरी सोही होटलमा बसेका थिए।
युवतीहरु देखेपछि मदिराको नशामा कोठाको झ्यालको सिसा फुटाएर उनी कोठाभित्र प्रबेश गरेका थिए। दुईमध्ये एक किशोरीको कपाल समातेर उनले बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले बताए। लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका साहलाई जबरजस्तीकरणी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ। लहान–५ स्थायी घर भएका उनी करार सेवाका कर्मचारी हुन्। अत्याधिक मदिरा सेवन गरेकाले होस गुमाउँदा सो घटना हुन पुगेको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।