काठमाडौं– १२ औं महाधिवेशनको आयेजना गरेको नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले विधानमाथि छलफल सुरु गरेको छ।
संस्थापन समूहसँग तिब्र असहमति राख्दै आएका महामन्त्री कुन्दनराज काफ्लेको समूहले बिहीबार विधानका विषयमा छलफल अगाडि बढाएको हो। संघका उपाध्यक्ष नवीन राईको नेतृत्वमा छलफल गरेको बताइएको छ।
विधान मस्यौदा समितिका संयोजक नवीन राईले अध्यक्षका मनोमानी गतिविधिले अधिवेशनको विकल्प नरहेको बताए। उनले अध्यक्ष जिम्मेवारीबाट पन्छिन खोजे पनि आफूहरु पन्छिन नमिल्ने बताए।
देशभरका नेविसंघमा आवद्ध विद्यार्थीहरुलाई विधानमा गर्नुपर्ने सुधारको लागि सुझावको आह्वान गरिएको महामन्त्री काफ्लेले जानकारी गराए। भेलामा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्षका विद्यार्थी नेताहरु सहभागी थिए।
विधान अनुरुप अध्यक्षले संघको गतिविधि नगरेको भन्दै महामन्त्रीको समूह नैन सिंह महरसँग असन्तुष्ट रहेको छ। पौडेल र सिटौला पक्षका विद्यार्थी नेताहरु संघको अधिवेशन साउनको २३ देखि २५ सम्म गर्न लागेका छन्। अध्यक्ष समूहले त्यसलाई मान्यता नदिने बताएका छन् भने असन्तुष्ट पक्षले बहुमत केन्द्रीय सदस्यको समर्थनमा महाधिवेशन आयोजना गर्न लागेको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।