पोखरा– पोखरा लेखनाथ महानगरपालिकाले नयाँ आर्थिक वर्ष २०७५/७६ देखि पर्यटन क्षेत्रमा करको दरमा वृद्धि गरेको छ।
विभिन्न क्षेत्रमा राजस्वको दायरा वृद्धि गरेको महानगरले पर्यटन क्षेत्रमा समेत कर बढाएको हो। पोखरा महानगरपालिका आर्थिक ऐन–२०७५ विधेयकमा उल्लेख भए अनुसार पर्यटन क्षेत्रमा कर वृद्धि गरिएको महानगरले बताएको छ। महानगरको नगरसभाले पास गरेको उक्त विधेयक साउन १ देखि नै लागू भइसकेको छ।
पर्यटन क्षेत्रलाई करको दायरामा ल्याई महानगरको राजस्व संकलनमा वृद्धि गर्न विभिन्न समूहमा होटल तथा लज रेस्टुरेन्टमा कर वृद्धि गरेको महानगरले जनाएको छ। महानगरले तारे होटलको हकमा २५ प्रतिशतसम्म कर बढाएको छ।
तारे होटलतर्फ एकतारे होटलले अबदेखि महानगरलाई ४ हजार ६ सय ६८ रुपैयाँ राजस्व बुझाउनुपर्नेछ। यसअघि ३ हजार ७ सय ५० राजस्व बुझाउने गर्थे।
यस्तै, दुईतारे होटलले यसै आर्थिक वर्षदेखि ६ हजार २ सय ५० रुपैयाँ राजस्व तिर्नुपर्नेछ। नयाँ करनीति अनुसार तीनतारे होटलका सञ्चालकहरुले ७ हजार ८ सय १३ रुपैयाँ तिर्नुपर्ने भएको छ। चारतारे होेटलले ९ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने नयाँ करनीति महानगरले ल्याएको छ। यस्तै, अघिल्लो आर्थिक वर्षमा ८ हजार ७ सय ५० कर तिरिरहेका पाँचतारे होटलले अबदेखि १० हजार ९ सय ३८ रुपैयाँ तिर्नुपर्नेछ।
महानगरभित्र भएका होटल तथा लजमा समेत करको दर बढाइएको महानगरले जनाएको छ। होटल तथा लजमा उपलब्ध कोठाका आधारमा उनीहरुले कर तिर्नुपर्ने भएको हो। पाँच वटासम्म कोठा भएका होटल तथा लजले नयाँ आर्थिक वर्षको करनीति अनुसार १० प्रतिशत कर वृद्धि भई ४ सय ८४ रुपैयाँ कर तिर्नुपर्नेछ। आर्थिक वर्ष २०७४÷७५ मा उनीहरुले ४ सय ४० रुपैयाँ तिर्दै आएका थिए।
१० वटासम्म कोठा भएका होटल तथा लजले अबदेखि करवापत ७ सय ८७ रुपैयाँ महानगरलाई बुझाउनुपर्नेछ। अघिल्लो आर्थिक वर्षमा १ हजार ३ सय २० कर तिरिरहेका २० वटासम्म कोठा भएका होटल तथा लजले यसै आर्थिक वर्षदेखि १ हजार ४ सय ५२ कर महानगरलाई बुझाउनपर्नेछ। २० कोठाभन्दा बढी क्षमता भएका होटल तथा लजले १ हजार ९ सय ३६ रुपैयाँ होटल सञ्चालन गरेवापतको कर बुझाउनुपर्ने करनीति महानगरले ल्याएको हो।
मुख्य बजार क्षेत्रमा सञ्चालन भएका रेस्टुरेन्टमा समेत महानगरले कर बृद्धि गरेको छ। अघिल्लो आर्थिक वर्षमा २ सय ७५ रुपैयाँ कर तिरेका ५ वटासम्म टेबुल भएका रेस्टुरेन्टले चालू आर्थिक वर्षमा ३२ प्रतिशतले वृद्धि भई ३ सय ६३ रुपैयाँ महानगरलाई बुझाउनुपर्ने भएको छ। महानगरको करनीति अनुसार १० वटासम्म टेबुल क्षमता भएका रेस्टुरेन्टले ४ सय ८४ रुपैयाँ कर तिर्नुपर्नेछ। यस्तै, २० टेबुल क्षमता भएका रेस्टुरेन्टले ८ सय ४७ रुपैयाँ बुझाउनुपर्ने नयाँ करनीतिमा उल्लेख छ।
५० टेबुलसम्म क्षमता भएका रेस्टुरेन्टको हकमा चालू आर्थिक वर्षमा १ हजार २ सय १० रुपैयाँ कर बुझाउनुपर्ने भएको छ। अघिल्लो आर्थिक वर्षमा १ हजार ६ सय ५० रुपैयाँ कर बुझाउँदै आएका ५० टेबुलभन्दा माथिको क्षमता भएका सबै रेस्टुरेन्टले यस वर्षदेखि २ हजार ४ सय २० रुपैयाँ कर तिर्नुपर्नेछ।
महानगरभित्रका ट्राभल, ट्रेकिङ एजेन्सी तथा ट्रेकिङ सामान बिक्री वितरण गर्ने पसललाई १० प्रतिशत कर वृद्धि गरिएको छ। अघिल्लो आर्थिक वर्षमा १ सय १० रुपैयाँ कर तिरिरहेका पर्यटन एजेन्सी तथा पसलले यसै आर्थिक वर्षदेखि १ सय २१ रुपैयाँ महानगरलाई बुझाउनुपर्नेछ।
यस्तै, क्याटरिङ तथा पार्टी प्यालेसको हकमा समेत अघिल्लो आर्थिक वर्षमा तिरिरहेको राजस्वमा यसै आर्थिक वर्षदेखि १० प्रतिशत वृद्धि भई १ हजार ८ सय १५ रुपैयाँ तिर्नुपर्ने नीति महानगरले ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।