भैरहवा– राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। सन् २०१९ जुनमा सम्पन्न गर्ने लक्ष्यका साथ विमानस्थल निर्माणको कामलाई तिव्रता दिइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मुआब्जा वितरणको लागि आवश्यक रकम नपठाउँदा स्थानीयले गरेको आन्दोलनका कारण गत असार ४ देखि ६ गतेसम्म आयोजना निर्माण कार्य बन्द भएको थियो। तर प्राधिकरणले स्थानीयको मुआब्जावापत्को रकम निकासा गरेपछि पुनः सुचारु भएको हो।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरउन्नती आयोजनाका प्रमुख इन्जिनियर ओम शर्माले हालसम्म समग्रमा ५० प्रतिशत बढी काम सम्पन्न भएको बताए। ‘हालसम्म ५० प्रतिशत काम सकिएको छ। विमानस्थलको अप्ठ्यारा मध्यका कामहरु धमाधम सम्पन्न हुने अवस्थामा रहेका कारण पनि तोकिएकै समयमा विमानस्थल तयार हुने छ।’
आयोजना प्रमुख शर्माका अनुसार पार्किङ क्षेत्रको ७० प्रतिशत काम सम्पन्न भएको छ भने बाँकी रहेको ३० प्रतिशत काम आगामी एक महिना भित्रमा निर्माण पुरा हुने छ। त्यसैगरी आगामी १५ दिन भित्रमा धावन मार्गको अन्य काम सम्पन्न भईसक्ने र त्यसपछि पिचको काम सुरु हुने उनको भनाइ छ।
त्यसैगरी प्रशासकीय भवन, कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
‘सम्भवत सन् २०१९ को सेप्टेम्बर २७ तारिखका दिन विश्व पर्यटन दिवसको अवसरमा विमानस्थलबाट पहिलो उडान भर्ने गरी गरी छलफल चलिरेहेको छ।’, आयोजना प्रमुख शर्माले भने। विमानस्थलको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले लक्षित समयमै सम्पन्न गर्नेगरी अहिले काममा तिव्रता दिएको उनले बताए। यसअघि सन् २०१७ को डिसेम्बरमा एसियाली विकास बैंकको (एडिवी)को मुख्य लगानीमा निर्माण सम्पन्न हुने गरी २०१५ को जनवरीबाट विमानस्थल निर्माण कार्य सुरु भएको थियो।
एडिबीले करिब २ महीनाअघि चिनियाँ ठेकेदार कम्पनीले निर्माणमा सन्तोषजनक काम नगरेकाले अनुदान र ऋण सहयोग रोक्ने चेतावनी पत्र नागरिक उड्ययन प्राधिकरणलाई पठाएको थियो। जनवरी यता उसले आफ्नो ऋण र अनुदान रकमको निकासासमेत बन्द गरेको थियो। अहिले भने काम सन्तोषजनक रुपमा अगाडि बढेको आयोजनाले दावी गरेको छ।
कुल ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँ लगानीमा निर्माणाधीन विमानस्थलमा एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ। यस्तै ओपेक फण्ड फर इन्टरनेसनल डेमलपमेन्टको ३० दशमलव ५ प्रतिशत र थप ११ प्रतिशत ऋण लगानी रहेको छ। मूल्य अभिवृद्धि कर भने नेपाल सरकारले व्यहोर्नेगरी निर्माण कार्य भइरहेको हो।
विमानस्थलमा हालसम्म २ अर्ब ६ करोड रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।