काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डा गोविन्द केसीको जीवनरक्षाका लागि एकताबद्ध भएर प्रदर्शनमा उत्रन सबैलाई आह्वान गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक केसीले जायज माग राखेर आमरण अनसन बसेको दाबी गर्दै उनको जीवनरक्षाका लागि एकताबद्ध भएर प्रदर्शनमा उत्रन आह्वान गरेका हुन्।बिहीबार संघीय संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै देउवाले आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहु पारित नगरे मान्य नहुने चेतावनी पनि दिए।
सभापति देउवाले जुम्लामा डा केसीको समर्थकमाथि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको घटनाको निन्दा समेत गरेका छन्। बिहीबार बिहान डा केसीलाई उपचारका लागि काठमाडौं ल्याउन सेनाको हेलिकोप्टर पुगेपछि केसीका समर्थनमा उत्रेका स्थानीय र विद्यार्थीले अस्पतालमा अवरोध गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो।
यसैबीच, डा केसी जुम्लाबाट नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंका लागि प्रस्थान गरेका छन्। प्रहरीले अनसन स्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बल प्रयोग गरे डा केसी काठमाडौं आउन तयार भएका थिए।
डा केसी असार १६ गतेदेखि आमरण अनसनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।