काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जुम्लामा अनसनरत डा गोविन्द केसीलाई उपचारका लागि काठमाडौं ल्याउन खोज्दा प्रायोजित जत्थाले अवरोध गरेको आरोप लगाएका छन्।
जुम्लामा नेपाली सेनाको हेलिकोप्टर पुगेपछि स्थानीय महिला र विद्यार्थीले अवरोध गरेपछि दोहोरो झडप समेत भएको थियो। उक्त अवरोधलाई श्रेष्ठले प्रायोजित जत्थाको कारण डा केसीलाई काठमाडौं ल्याउन समस्या भएको टिप्पणी गरेका हुन्।
श्रेष्ठले डा केसीलाई उपचारका लागि काठमाडौं ल्याउन हेलिकोप्टरसहित राजधानीबाट गएको सरकारी टोलीसँगै आउन तयार भएको भन्दै सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, 'यसअघि अस्पतालभित्र राखिएको प्रायोजित जत्थाले मुख्यमन्त्री र वार्ताटोलीलाई डा केसी समक्ष जान रोकेको थियो।’
साथै, नेता श्रेष्ठले अर्को ट्विटमा नेपाल चिकित्सक संघले स्वास्थ्यसेवा जस्तो अत्यावश्यक सेवामा हड्ताल गरेर अक्षम्य गल्ती गरेको भन्दै यसलाई तत्काल सच्याउनुपर्ने उल्लेख गरेका छन्।
उनले ट्विटमा लेखेका छन्, 'तात्कालिक निहित स्वार्थ पूर्तिका लागि कसैले पनि यसलाई प्रोत्साहित वा प्रयोग गर्ने काम गर्नु हुँदैन। अन्तत: यो समाज र लोकतन्त्रका लागि घातक हुन्छ।'
डा गोविन्द केसीले सरकारले पठाएको हेलिकोप्टरमा नफर्कने अडान राखेका छन्। उनले आउनैपरे आफैं आउने बताएका छन्।
डा केसीको माग पूरा नगरी काठमाडौं लैजान नपाउने मागसहित प्रदर्शनमा उत्रेका सर्वसाधारणमाथि अश्रुग्यास प्रहार भएपछि सरकारको ब्यापक आलोचना भइरहेको छ। हिजै नेकपा सचिवालयको आकस्मिक बैठक बसेर केसीलाई काठमाडौं ल्याउने निर्णय गरिएको थियो। सोही निर्णय अनुसार आज बिहान हेलिकप्टर जुम्ला गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।