काठमाडौं– सेवाग्राहीहरुले अस्पतालको सबै सेवा सूचारु गराउन माग गर्दै वीर अस्पताल अगाडि प्रर्दशन गरेका छन्।
बिहीबार बिहानै अस्पताल पुगेका उनीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरुले गरिरहेकोमा आपत्ति जनाउँदै तत्काल सबै सेवा सुचारु गराउन माग गरेका हुन्। बिरामी कुरुवाहरुले अस्पतालमा उपचाररत बिरामीहरुको जीवन धरापमा पारेर चिकित्सकहरुले पदीय दुरुपयोग गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।
वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दबाव दिँदै नेपाल चिकित्सक संघको आह्वानमा आजबाट देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएपछि बिरामी र बिरामीका कूरुवाहरुले सास्ती व्यहोर्नु परेको छ। कुरुवाहरुले आफ्नो बिरामीको जीवनमाथि खेलवाड गर्ने चिकित्सकहरुले तत्काल क्षतिपूर्ति दिनुपर्ने माग पनि गरेका छन्।
गोविन्द केसीको माग जायज भएपनि पूर्व मेचीदेखि महाकालीसम्मका बिरामीहरुलाई उपचार गर्न छोडेर डाक्टरहरुले अपराध गरेको सेवाग्राहीहरुको भनाइ छ। उनीहरुले बिरामीहरुको उपचारमा चिकित्सकहरु नर्फकिए उनीहरुविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्।
नुवाकोटका दिनेश रानामगरले अस्पताल बन्द गरेर चिकित्सकहरुले आफूहरुलाई मारमा पारेको भन्दै आक्रोश व्यक्त गरे। बिरामी लिएर अस्पताल आएका उनले आज ओपीडी सेवा बन्द भएको आफूलाई जानकारी नभएको पनि बताए।
खुट्टामा भएको घाउको उपचारका लागि अस्पताल पुगेका काभ्रेका कुलबहादर रसायलीले डा केसीको माग सही भएपनि चिकित्सकहरुले बिरामीको उपचार छाडेर आन्दोलनमा जाने काम जायज नभएको धारणा राखे। उनले उपचारका लागि ओपीडीमा आएपनि अस्पतालको सेवा बन्द भएकोमा आपत्ति जनाए।
सेवाग्राहीहरुले अस्पताल बन्द गरेर चिकित्सकहरुले बिरामीमाथि खेलबाड गर्न नहुनेतर्फ पनि सचेत गराएका छन्। उनीहरुले डा केसीको माग सम्बोधन गराउन आफूहरु पनि आन्दोलनमा जाने तर अस्पतालको सेवा तत्काल खुलाउनुपर्ने माग चिकित्सकहरुसँग राखेका छन्।
वरिष्ठ चिकित्सक केसीले जुम्ला पुगेर आमरण अनसन बसेपछि चिकित्सकहरुले उनको माग सम्बोधनका लागि दबाव दिन देशभरका अस्पतालका आकस्मिकबाहेक सबै सेवा बिहीबार बन्द गरेका हुन्। चिकित्सकहरुले अस्पतालको ओपीडीलगायतका अतिआवश्यक सेवा बन्द गरेपछि बिरामी र उनका आफन्तले जीवन रक्षाको लागि उचित वातावरण बनाउन सरकारको पनि गम्भीर ध्यानाकर्षण गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।