काठमाडौं– शिवम् सिमेन्टले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रको लागि साउन १३ गतेदेखि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ। शिवम्ले प्रतिसेयर १ सयमा प्रिमियम रकम २ सय थपेर ३ सय रुपैयाँ अंकित मूल्यमा आइपिओ जारी गर्न लागेको हो।
कम्पनीले जारी गर्न लागेको ८ लाख ८० हजार कित्ता आइपिओमा भदौ ११ गतेसम्म मकवानपुर जिल्लाका बासिन्दाले मात्र आवेदन दिन सक्नेछन्।
स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।
इक्रा नेपालले गरेको क्रेडिट रेटिङ अनुसार कम्पनीको क्रेडिट रेटिङ ‘इक्रा एनपी आइपिओ ग्रेड – ३ प्लस’ रहेको छ। यस्तो ग्रेडले औषत आधारहरु जनाउँछ।
कम्पनीको स्थिर सम्पति ४ अर्ब १९ करोड रुपैयाँलाई आधार मान्दा उद्योगको साधारण लगानी अबको २ वर्ष ६ महिनामा फिर्ता हुने अनुमान गरिएको छ। कम्पनीको संस्थापक शेयर पूँजी ८८ प्रतिशत अर्थात तीन अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने बाँकी सर्वसाधारणतर्फको १२ प्रतिशत अर्थात ५२ करोड ८० लाख रुपैयाँसहित जम्मा पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ।
आइपिओ आवदेनको लागि धितोपत्र बोर्डबाट आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।