काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसदबाट फिर्ता नहुने बताएका छन्। आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पोखरेलले भने,‘डा केसी काठमाडौं आउनुभयो भने उहाँसँग सल्लाह हुन्छ। यदि त्यसो भएन भनेपनि सरकारले कुनै पनि हालतमा विधेयक फिर्ता लिँदैन।’
मन्त्री पोखरेलले विधेयक संसदमा पेश हुने र संसदीय प्रक्रियामै अगाडि बढ्ने स्पष्ट पारे। ‘यसअघि ल्याइएको अध्यादेशमा हाम्रो सहमति थिएन। संसद विघटनपछि पेलेर अध्यादेश ल्याइएको थियो।’, उनले भने,‘त्यो नेपाली कांग्रेसले ल्याएको अध्याधेस थियो। नारायणकाजी श्रेष्ठले त्यति नै बेला फरक मत राख्नुभएको हो।’
उनले सरकारले हाल संसदमा पेस गर्न लागेको चिकित्सा शिक्षा विधेयकमा माथेमा कार्यदलका मुलभुत कुरा समेटिएको दावी गरे। ‘माथेमा प्रतिवेदनमा रहेका मुख्य विषयहरु हटाइको छैन।’, मन्त्री पोखरेलले भने,‘अध्यादेशमा नपुग कुरा विधेयक संसदमा गइसकेकाले सांसदले थप्ने तथा संशोधन गर्नेछन्। त्यही नै सही प्रक्रिया हो।’
उनले माथेमा प्रतिवेदन राम्रो रहेको पनि औँल्याए। ‘माथेमा कार्यदलको प्रतिवेदन राम्रो सामाग्री हो तर यो स्वतः एेन बन्दैन। हामी संसदीय प्रक्रिया अनुसार नै एेन बनाउँछौँ।’
सरकारले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विधेयक पेश गर्ने कार्यसूची रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।