काठमाडौं– नेपाल चिकित्सक संघले आज देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ। डा गोविन्द केसीको मागप्रति एेक्यबद्धता जनाउँदै संघले सरकारलार्इ माग पूरा गर्न ४८ घण्टाको समय दिएको थियो।
तर, सरकारले माग पूरा नगरेपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको संघले जनाएको छ। संघले आज देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिक लगायतका सम्पूण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिने निर्णय भएको महासचिव डा लोचन कार्कीले जानकारी दिए।
‘असार १६ गतेदेखि जुम्लामा अत्यन्त जोखिमका साथ अनसनमा बस्नु भएका यस संघका आजीवन सदस्य प्रा डा गोविन्द केसीको जीवन रक्षाका निम्ति सम्माननीय प्रधानमन्त्री, शिक्षामन्त्री, स्वास्थ्यमन्त्री लगायत राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई पार्टी कार्यालय तथा घरदैलोमा पुगेर जीवन रक्षाको निम्ति अपिल गर्दा समेत डा केसीको जीवनरक्षाका लागि सरकारको तर्फबाट कुनै पनि जिम्मेवारी बोध नगरिएको नेपाल चिकित्सक संघको ठहर छ’, संघद्वारा बुधबार सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘डा गोविन्द केसीको जीवन रक्षाका लागि मिति २०७५ साउन ३ गते बिहीबार देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने एवम् माइतीघर मण्डलामा दिउसो १२ बजे भेला हुने निर्णय भएको छ।’
संघको यो निर्णयमा सरकारी चिकित्सक संघले समेत एेक्यबद्धता जनाएको छ। संघका अध्यक्ष दिपेन्द्र पाण्डेले नेपाल चिकित्सक संघको कार्यक्रममा सहमति जनाउँदै सरकारी चिकित्सकले पनि आकस्मिक बाहेकको सेवा ठप्प पार्न लागिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।