जाकार्ता– इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जार्इ इनलाई आफ्नो देशमा नियन्त्रणा गरेका छन्।
आउँदो महिना हुने एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा आतिथ्यता ग्रहण गर्न उनले दुई कोरियाका दुई शीर्ष नेतालाई निमन्त्रणा गरेका हुन्।
प्रतियोगितामा दुवै देशले सँगै सहभागिता जनाउने सहमति भइसकेकाले राष्ट्रपति विडोडोले किम र मुनलाई निमन्त्रणा गरेका इन्डोनेसियाका उच्च अधिकारीहरूले जनाएका छन्।
विश्वमा शान्तिपूर्ण वातावरण फैलाउनका लागि सो कार्यक्रम एउटा महत्वपूर्ण सहयोगी अवसर हुनसक्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा दुई कोरियाका शीर्ष नेताद्वय किम र मुन सहभागी भए विश्वको ध्यान खिचिने छ।
एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा झण्डै २६ देशका प्रमुख आउने संभावना रहेको बताइएको छ।
उद्घाटन समारोहका लागि दुई लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको इन्डोनेसियाको प्रहरीका राष्ट्रिय प्रमुख टिटो कार्नाभिआनले जानकारी दिए।
प्रतियोगितामा झण्डै ४५ देशबाट नेता, खेलाडी, प्रतिनिधिलगायत गरी झण्डै २५ सय जना सहभागी हुने अपेक्षा आयोजक राष्ट्र इन्डोनेसियाले गरेको छ। प्रतियोगिताअन्तर्गत विभिन्न ४० वटा खेल हुनेछन्।
१८औँ संस्करणको सो प्रतियोगिता आउँदो अगस्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म हुन लागेको हो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।