काठमाडौं– जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको स्वास्थ्य थप जटिल बन्दै गएको छ।
डा केसीको मुटुमा गम्भीर समस्या देखिएको र विगत २४ घन्टामा पहिलेभन्दा मुटुको गडबडी धेरै पटक दाहाेरिएकाे जानकारी उनको रेखदेखमा खटिएका चिकित्सकहरुले दिएका छन्। अहिलेकै समस्या यथावत् रहे डा केसीलाई कुनै पनि बेला सिसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था निम्तिन सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर तथा डा केसीको उपचार टोलीका संयोजक डा पुजन रोकायाले बताए।
तर, सिसियूको सुविधा प्रतिष्ठानमा नभएको चिकित्सक टोलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
अघिल्लो दिनको तुलनामा बुधबार श्वासप्रश्वासमा थप कठिनाइ हुँदा डा केसीलाई चौबिसै घन्टा अक्सिजनको सहायतामा राखिएको रोकायाले जानकारी दिए।
'छाती दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने, मांसपेसी बाउँडिने जस्ता समस्यामा खासै उल्लेख्य सुधार हुन सकेको छैन', विज्ञप्तिमा भनिएको छ।
विज्ञप्ति अनुसार, डा केसीका दुवै हातका नसा संक्रमित भएका छन्। स्लाइन पानी दिन खोलिएको दोस्रो हातको नसामा पनि संक्रमण देखिएको जनाइएको छ। बढ्दो संक्रमण र सेतो रक्तकोशिकाको निरन्तर घट्दो मात्राले सेप्सिसको जोखिम बढेको उल्लेख गरिएको छ।
रगतमा पोटासियम, म्याग्नेजियम र क्याल्सियमको मात्रा निकै कम भएर जोखिमहरु बढे पनि डा केसीले ती तत्व लिन मानेका छैनन्।
नसाबाट निरन्तर स्लाइन पानी दिइए पनि शरीर डिहाइड्रेसन (जलवियोजन)का लक्षणहरु पनि देखिएको जानकारी चिकित्सक टोलीले दिएको छ।
उनलाई दिनहुँजसो फिजियोथेरापीमार्फत अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ। प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा रोकायाका अनुसार अस्पतालले इमर्जेन्सी म्यानेजमेन्टका लागि उपकरण र औषधिहरु तयारी अवस्थामा राखिएको छ।
डा केसीको रेखदेखमा डा रोकायाको नेतृत्वमा डा सिद्धार्थ थामी र डा धीरज गुरुङ खटिएका छन्।
यसैबीच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) सचिवालयको आकस्मिक बैठकले जुम्लामा १९ दिनदेखि अनसनरत डा गोविन्द केसीको जीवनरक्षाका लागि तत्कालै सुविधासम्पन्न अस्पतालमा उपचारका लागि ल्याउने र उनका मागका विषयमा खुला रुपमा छलफल गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बेलुका बसेको बैठकले डा केसीले कुनै पनि हालतमा अनसन नतोड्ने भएकाले उनको जीवनरक्षालाई पहिलो प्राथमिकता दिँदै सुविधासम्पन्न अस्पतालमा ल्याउने र मागका विषयमा छलफल अगाडि बढाउने निर्णय गरेको हो।
तर सरकारले वार्ताको नाममा झारा टार्ने काम मात्र गरेको जनाउँदै अनसनरत डा केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै ‘म्यान्डेट’बिना वार्ता नहुने बताएका थिए। डा केसीले सरकारले प्रारम्भिक चरणको वार्ता गरेकोमा हालसम्म सरकारका तर्फबाट माग पूरा गर्न कुनै पहल नभएको जनाएका छन्। आवश्यक म्यान्डेट नै नदिई कर्मचारीहरु मात्र सम्मिलित वार्ता टोली पठाएर झारा टार्ने काम मात्रै भएको उनको भनाइ छ। ‘यसबाट सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको तथा हामीले उठाएका एजेन्डाप्रति उदासीन रहेको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ।
यस्तो अवस्थामा आफ्ना मागहरु सम्बोधन गर्न सरकारले आवश्यक वातावरण नबनाएसम्म अर्को चरणको वार्ता गर्नुको औचित्य नहुने पनि केसीले स्पष्ट पारेका थिए।
‘वार्तालाई तार्किक निष्कर्षमा पुर्याउन तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन सरकारलाई आग्रह गर्दर्छौं। त्यसो भएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी पनि गराउँछौं’, डा केसीले उल्लेख गरेका छन्।
तीन दिनयता सरकारी वार्ता टोली र डा गोविन्द केसी पक्षबीच पटकपटक भएको वार्ता विफल भएको थियो।
डा केसीको मागमा वार्ता गर्न सोमबारको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो। वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी थिए। डा केसीका तर्फबाट डा सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी छन्।
चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने लगायतका मागसहित डा केसी गत असार १६ देखि जुम्लामा अनसनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।