काठमाडौं– मलेठ घटनाका सम्बन्धमा गत सोमबार सार्वजनिक भएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनप्रति राष्ट्रिय जनता पार्टीले विरोध जनाएको छ। उसले प्रतिवेदनलाई एकपक्षीय, पूर्वाग्रही तथा विरोधाभाषपूर्ण भनेको छ।
'उपलब्ध सबुत प्रमाणहरुको समुचित तथा वस्तुगत विश्लेषण नगरी एकपक्षीय, पूर्वाग्रही तथा विरोधाभाषपूर्ण प्रतिवेदन सार्वजनिक गरी आम जनताको मानव अधिकारप्रतिको आशा र विश्वासमा आघात पार्ने कार्य आयोगको यस प्रतिवेदनले गरेको हाम्रो ठहर छ', पार्टी संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
राजपाले आयोगको प्रतिवेदनले राज्यको सुरक्षाकर्मी तथा प्रशासन संयन्त्रको जवाफदेहीबारे प्रस्ट पार्न नसकेको आरोप पनि लगाएको छ।
तत्कालीन नेकपा एमालेको मेची-महाकाली चुनावी अभियानका क्रममा २०७३ फागुन २३ गते सप्तरीको मलेठमा एमालेको सभाको विरोधमा उत्रेका लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारीहरुमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर ५ जनाको ज्यान गएको थियो।
उक्त घटनाबारे अध्ययन गर्न मानव अधिकार आयोगले सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अली अन्सारी संयोजक रहेको उच्चस्तरीय छानबिन समिति बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।