काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दु राष्ट्र पुनर्स्थापना राष्ट्रिय जनजागरण अभियान सुरु गरेको छ।
अभियानले आगामी फागुन ७ गतेदेखि हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि निर्णायक संघर्ष गर्ने चेतावनी दिइएको छ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अभियानको सुरुवात गर्दै राप्रपा अध्यक्ष कमल थापाले हिन्दु धर्म आम नेपालीको साझा पहिचान र संस्कृति भएकाले त्यसको रक्षाका लागि राष्ट्रिय अभियान नै चलाउनुपरेको बताए।
अध्यक्षले आफूहरुको अभियान सरकार र कुनै पनि धर्म विशेषप्रति लक्षित नरहेकोे पनि स्पष्ट पारे। करिब ९४ प्रतिशत सनातन धर्मका अनुयायी नेपालीहरुको पहिचान जोगाउन पार्टीले हिन्दु राष्ट्र पुनर्स्थापनाको मागलाई जोड दिएको तर्क अध्यक्ष थापाको छ।
अध्यक्ष थापाले विदेशीको इशारामा नेपाललाई हिन्दु राष्ट्रबाट हटाउने निर्णय लिएको भन्दै आक्रोश पनि व्यक्त गरे। उनले मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने निर्णय खारेज गर्न संविधान संशोधनको प्रस्ताव ल्याउन पनि सरकारसँग माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।