काठमाडौं– सरकारले आगामी पाँच वर्षभित्र कृषि उत्पादन तीन गुणा बढाउने योजनासहित नयाँ रणनीति तयार गरिरहेको छ।
कृषि क्षेत्रमा उत्पादन र कृषिमा युवाको आकर्षण बढाउन ठोस योजना बनाइरहेको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ।
पहिलो चरणमा १० वर्षको कार्ययोजनासहितको रणनीति बनाई लागू गर्ने र त्यसका लागि प्रतिवर्ष ५० अर्बका दरले कृषि क्षेत्रमा लगानी गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, सरकारले आगामी २० वर्षभित्र करिब ५ सय अर्ब रुपैयाँ लगानीसहित खर्च गर्ने योजना बनाइरहेको छ।
२० वर्षका लागि सरकार र दातृ निकायको तर्फबाट ४ सय ४५ अर्ब र निजी तथा समुदायबाट ५७ अर्ब स्रोत जुटाउने कृषि मन्त्रालयले जनाएको छ।
आगामी दुई वर्षभित्र कृषि क्षेत्रमा क्रान्ति ल्याउने सरकारी योजना रहेको मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले बताए।
उनले भने, ‘सरकारले कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि २० वर्षका लागि कृषि विकास रणनीति बनाइरहेको छ। नेपाललाई कृषिप्रधान देशको अनुभूति गराउने उक्त रणनीतिको उद्देश्य हो।’
कृषि उत्पादन वृद्धिसँगै आयात तथा निर्यात प्रवद्र्धनका विषयमा अध्ययन गर्दै थप कार्यक्रम ल्याउने योजना रहेको प्रवक्ता कार्कीले बताए। विगतमा लागू गरिएकै कार्यक्रम तथा योजनाहरुलाई थप सशक्त पार्दै केही नयाँ कार्यक्रमलाई सँगसँगै अगाडि बढाइने उनले जानकारी दिए।
नयाँ आर्थिक वर्ष २०७५/०७६ सुरु भएसँगै नयाँ रणनीतिसहितका योजना कार्यान्वयन गर्ने तयारीमा मन्त्रालय लागिपरेको छ। २० वर्षीय रणनीतिमा प्रधानमन्त्री आधुनिकीकरण परियोजना, कृषि बिमा कार्यक्रम, किसान आयोग, कृषि कर्जा, वैदेशिक रोजगारीबाट फर्किएका युवा सीपको पहिचान गर्दै कृषि क्षेत्रमा स्थापित गर्ने, कृषि अनुदानका कार्यक्रम, युवा लक्षित कृषि कार्यक्रम, कृषक परिचयपत्र वितरण लगायत विषयलाई विशेष प्राथमिकतामा राखिएको छ।
नेपालमा धेरै जमिनमा खण्डीकृत खेती प्रणाली रहेकाले प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्तर्गतका केही कार्यक्रम मार्फत नीतिगत परिवर्तन गर्ने योजना मन्त्रालयको छ। विकसित देशले नेपालमा ठूला–ठूला कृषि फार्म र उद्योग सञ्चालन गर्न चाहिने स्रोत–साधनका लागि विशेष सुविधाको व्यवस्था गर्ने मन्त्रालयको भनाइ छ।
काम गर्ने जनशक्तिको अभावका कारण धेरै जमिन बाँझो रहेकाले विदेशिने युवालाई रोक्दै नेपालको भूगोल र माटो सुहाउँदो कृषिमा जोड दिने योजना ल्याउने पनि मन्त्रालयको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।