काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता लिन सरकारसँग पुनः माग गरेका छन्।
कांग्रेस नेता थापाले सरकारले हाल संसदमा पेस गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिए वरिष्ठ चिकित्सक गोविन्द केसीले पनि आमरण अनसन तोड्ने विश्वास व्यक्त गरे।
बुधबार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूहरुको सहमति अनुसार मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अघि बढाउन पनि सरकारसँग आग्रह गरे। नेता थापाले सरकारले वरिष्ठ चिकित्सक केसीलाई वार्ताको नाटक गरेर जबर्जस्त काठमाडौं ल्याउन चाहेको आरोप पनि लगाए।
कांग्रेस नेता थापाले राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिए वार्तामार्फत् वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। उनले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा आम नागरिकलाई समान अवसर दिन नचाहेको पुष्टि भएको दावी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।