काठमाडौं– नेपाली कांग्रेसका शिर्ष नेताहरुको बैठकले चिकित्सा शिक्षा अध्यादेश अनुसारकै विधेयक संसदमा पेश नगरे संसद चल्न नदिने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले तोडमोड गरी ल्याइएको विधेयक विरुद्धमा दबाव बढाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
शिर्ष नेताहरुको बैठक सुरु हुनु अघि सभापति र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छुट्टै भेटवार्ता भएको थियो। पार्टीको विधान मस्यौदा समितिका लागि बिहीबारसम्म नाम दिनका लागि सभापतिले पौडेलसँग माग गरेका थिए। विधान मस्यौदा समिति ९ देखि ११ सदस्यीय हुने बताइएको छ।
सरकारको अधिनायकवादी शैलीका विरुद्धमा संसदमा थप प्रभावकारी भूमिका खेल्ने निर्णय गरिएको शर्माले बताए। बैठकमा वर्तमान र पूर्व पदाधिकारीहरुको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।