काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकको हस्तकलाको प्रवर्द्धन एवम् विकासका लागि सार्क हस्तकला विकास केन्द्र निर्माण हुने भएको छ।
उद्योग परिसर त्रिपुरेश्वरमा नेपाल सरकारको २७ करोड रुपैयाँ लगानीमा बन्न लागेको केन्द्रको आगामी साउन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ।
नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपालको हस्तकलालाई सार्क क्षेत्रसम्म विकास गर्नका लागि सार्क हस्तकला केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए। तीन वर्षमा निर्माण सम्पन्न हुने केन्द्र ५ तले हुनेछ।
दुई आर्थिक वर्षसम्म रकम विनियोजन भए पनि निर्माण कार्य अगाडि नबढेको केन्द्र निर्माणका लागि चालु आर्थिक वर्षमा सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ।
नयाँ बन्न लागेको हस्तकला केन्द्रमा हस्तकला परीक्षण प्रयोगशाला, हस्तकला प्रदर्शन कक्ष, हस्तकला डिजाइन सेन्टर र तालीम केन्द्र रहनेछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।