कानो, नाइजेरिया- बाढी पहिरोको प्रकोपका कारण नाइजेरियामा ४९ जनाको मृत्यु भएको छ
आपतकालीन सेवाका अधिकारीहरूले दिएको जानकारी अनुसार बाढी पहिरोले बगाएर अरू २० जना अहिलेसम्म पनि बेपत्ता रहेका छन्।
जिविआ जिल्लाको ५ गाउँ बाढी पहिरोबाट बढी प्रभावित भएको समाचारमा जनाइएको छ। आइतबार रातभर आएको अत्यधिक वर्षापछि स्थानीय नदीहरूमा पानीको मात्रा बढेर बाढी आएको काटसीना राज्यको आपतकालीन व्यवस्थापन निकायका प्रमुख अमिनु वाजिरिले जानकारी दिए।
'हामीलाई अहिलेसम्म ती ५ गाउँबाट ४९ जनाको शव भेटिएको विवरण प्राप्त भएको छ,' उनले भने।
आपतकालीन सेवा प्रमुख वाजिरिले हराइरहेका अरू २० जनाको पनि खोजी भइरहेको जानकारी दिए।
बेपत्ता भएका मध्ये केहीको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। कतिपय बाढीपहिरो पीडितहरूलाई जटिल अवस्थाबाट उद्धार गरिएको वाजिरिले बताए।
बाढी पहिरोमा परी दुई हजारभन्दा बढी स्थानीयबासिन्दा विस्थापित भएका छन् भने २७ जना घाइते भएका छन्। विस्थापितहरूलाई जिविआको स्थानीय विद्यालयहरूमा अस्थायी शिविर बनाएर राखिएको छ भने घाइतेहरूलाई अस्पतालमा उपचार गराइएको छ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।